गृहमन्त्री गुरुङलाई राजीनामा दिन रास्वपाभित्रै दबाब, लामिछानेद्वारा पार्टी बैठकमै आफ्ना कुरा राख्न सुझाव

लोकपथ
3.1k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी गरेको भेटिएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजीनामा दिन दबाब बढेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नै राजीनामाका लागि दबाब बढेपछि गृहमन्त्री गुरुङ अप्ठेरोमा पर्दै गएका छन् । 

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरिसकेको छ । साथै जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरूमा निष्पक्ष छानबिन हुनु पर्ने माग पनि अघि सारेको छ ।

आफूमाथि पार्टीको सम्भावित ‘एक्सन’ लाई लिएर गृहमन्त्री गुरुङ रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढानीलकण्ठ गएका थिए । सरकार र पार्टीनीतिविपरीत काम गरेको भन्दै रास्वपाले यसअघि नै श्रममन्त्री दीपक साहलाई पदमुक्त गरिसकेकाले गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न गएका थिए । 

झन्डै २ घण्टा बुढानीलकण्ठमा बसेका गृहमन्त्री गुरुङलाई सभापति लामिछानेले लामिछानेले सोमबार पनि पार्टीको बैठक बस्ने र आफ्नो कुरा बैठकमै राख्न सकिने जवाफ दिएको स्रोतको भनाइ छ । 

गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहनिकट मानिन्छन् । उनलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री शाहले मरिहत्ते नै गरेका थिए । 

गृहमन्त्री गुरुङ चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बिमा कम्पनीको पनि शेयर होल्डर रहेको तथ्य भेटिएपछि विवादमा मुछिएका हुन् । 

सुजन आचार्य संस्थापक अध्यक्ष रहेको यो कम्पनीमा चार जना सञ्चालक छन् । हाल अध्यक्ष रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङकी कर्मचारी हुन् । उनीसमेत सञ्चालक रहेको कम्पनीमा ५७ जना संस्थापक शेयर धनी छन् । दीपक भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजको उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । त्यति बराबरको रकम अर्थात् २५ लाख रुपैयाँको सेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य बाहिरिएको हो । उनले यो कुरा अघिल्लो हप्ताको सम्पत्ति विवरणमा भने उल्लेख गरेका छैनन् ।

भट्ट हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?