लन्डन । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा बेलायतको लन्डनमा नेपाली हिपहप संगीतको भव्य कार्यक्रम सम्पन्न भएको छ । डाल्स्टन, ह्याक्नीस्थित अर्थ रिभोलुसनरी ह्याक्नी हलमा आयोजित ‘नेपहप नाइट २०८३’ ले नेपाली संगीतप्रेमी दर्शकलाई उत्साहित बनाएको हो ।

मिलानोयर इभेन्ट्सद्वारा आयोजित कार्यक्रममा चर्चित र्याप कलाकार समीर घिसिङ ‘भिटेन’ र साकार ‘लिल बुद्ध’ एउटै मञ्चमा प्रस्तुत भएका थिए । करिब तीन महिनाको तयारीपछि आयोजना गरिएको कार्यक्रममा एक हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको सुरुवात ट्राइ–गार र बोका–जीको प्रस्तुति बाट भएको थियो । सुरुदेखि अन्त्यसम्म नै दर्शकको उत्साह, हुटिङ र साथले माहोल निकै रोमाञ्चक बनेको थियो ।
साँझ ७ बजेदेखि मध्यरात १२ बजेसम्म चलेको कार्यक्रममा भिटेनले ‘सिम्सिमे पानी’, ‘ड्रग एडिक्ट’, ‘हालखबर’, ‘हामी यस्तै त हो नि ब्रो’, ‘चुरोट’ लगायत चर्चित गीत प्रस्तुत गरेका थिए । त्यस्तै साकारले ‘नो पिस इन लभ’, ‘सुरु गरौँ कब्जा अनि आउँछ मजा’ लगायत चर्चित सिर्जनामार्फत दर्शकलाई झुमाएका थिए । उनलाई डिजे इभिलाइभले साथ दिएका थिए ।

भिटेन र साकारले संयुक्त रूपमा प्रस्तुत गरेको ‘ल ल ल..’ गीतमा दर्शक झन् बढी उत्साहित बनेका थिए । स्थानीय समूह ‘अफलाइन’ र ‘पानी पुरी’ ले समेत प्रस्तुति दिँदै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
आयोजक मिलानोयर इभेन्ट्स लिमिटेडकी निर्देशक लुबिका रिमालले पहिलो कार्यक्रम नै सफल भएकोमा सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी गर्मीयाममा थप कार्यक्रम आयोजना गर्ने तयारी रहेको जानकारी दिइन् । कार्यक्रम सिड्नी गुरुङले सञ्चालन गरेकी थिइन् ।

यसैबीच, भिटेनको आधिकारिक युट्युब च्यानलमा ३० लाख सदस्य पुगेको अवसरमा आयोजकले टावर ब्रिज क्षेत्रमा विशेष उत्सवसमेत आयोजना गरेको थियो । भिटेनले आफ्ना दर्शक तथा श्रोताप्रति आभार व्यक्त गरेका छन् ।
भिटेन अप्रिल २० मा नेपाल फर्कने कार्यक्रम रहेको छ भने साकार र उनका डिजे टोली पनि आजै नेपाल फर्किंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया