काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिता गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहलाई दिने फैसला गरेपछि पार्टीभित्रको राजनीति नयाँ मोडमा पुगेको छ ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्चको फैसलालाई आफूहरूले स्वीकार गर्ने र अब पार्टी एकता कायम राख्ने जिम्मेवारी नयाँ सभापति गगन थापाको काँधमा आएको बताएका छन् ।
शुक्रबार सर्वोच्चको फैसला आएपछि शनिबार काठमाडौंको गोल्फुटारस्थित पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा निःवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको अनौपचारिक भेटघाट भएको थियो ।
सो भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता विश्वकर्माले उक्त भेटघाट केवल अनौपचारिक छलफल र परामर्शका लागि राखिएको जानकारी दिए । नेता विश्वकर्माले पार्टीभित्रको कानुनी विवाद अन्त्य भएसँगै अब सबैले मिलेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।
अदालतको फैसलामा प्राविधिक वा आधारभूत विषयमा केही असहमति रहे पनि नेपाली काँग्रेस कानुनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले फैसलालाई स्वीकार गर्ने उनको भनाइ छ । नेता विमलेन्द्र निधीले पनि फैसला नमान्ने नभई फैसलाको आधारमा रहेका केही विरोधाभासपूर्ण विषयहरूमा मात्रै प्रश्न उठाएको उनले स्पष्ट पारे ।
उनले भने, ‘अदालतको फैसला आएपछि अब पार्टीलाई एकताबद्ध बनाएर कसरी लैजान सकिन्छ भन्ने बारेमा हामीले परामर्श गरेका छौँ । यो कुनै आधिकारिक बैठक होइन, अनौपचारिक भेटघाट हो । पहिले शेरबहादुर देउवाको खुट्टामा रहेको बल अहिले सर्वोच्च अदालतले गगन थापाको खुट्टामा फालिदिएको छ । अब उहाँले नै पार्टीलाई कसरी एकताबद्ध बनाउने, कसरी ठुलो बनाउने र सबैलाई समेटेर एक ढिक्का हुने वातावरण सिर्जना गर्ने भन्नेमा विशेष पहलकदमी लिनुपर्छ ।’
उनले सर्वोच्चको फैसलापछि अब पार्टीको नेतृत्व विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको हातमा पुगेको उल्लेख गर्दै यसको राजनीतिक स्वामित्व पनि अब उनले नै लिनुपर्ने बताए ।
उनले पार्टीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको सुझाव र परामर्श लिएर अघि बढ्ने र यसका लागि केही समय लाग्ने बताए । यसअघि दुवै पक्षले आ–आफ्ना गतिविधिहरूलाई तीव्रता दिए पनि अब अदालतको फैसला आइसकेपछि कानुनी विवादको पाटोसमेत टुङ्गिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया