भ्रष्टाचार अन्त्य र चुस्त सेवा प्रवाह नै सरकारको प्राथमिकता : राष्ट्रपति पौडेल

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले जनताले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तीव्र आकांक्षा राखेको बताए ।

राष्ट्रपति पौडेलले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले उठाएको आवाजपछि जटिल परिस्थितिका बीच सम्पन्न निर्वाचनलाई सकारात्मक कदमका रूपमा उल्लेख गरे । उनले भ्रष्टाचारको अन्त्य, विधिको शासन र दण्डहीनता अन्त्यका लागि संसदले नागरिक केन्द्रित तथा जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

निर्माण भएका कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकार सक्षम रहनेमा आफू विश्वस्त रहेको उनले बताए । साथै, न्यायपालिकाबाट हुने न्याय छिटो, छरितो र निष्पक्ष भए मात्र शहीदप्रति साँचो सम्मान हुने उनको भनाइ छ ।

उनले नेपाली जनताले गरेका ऐतिहासिक आन्दोलन तथा पछिल्लो समयका आन्दोलनमा ज्यान गुमाउने शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युवाको विदेश पलायन रोक्नु आजको मुख्य चुनौती भएको बताए । यसका लागि शिक्षा प्रणालीमा सुधार र बजारको मागअनुसार जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

राष्ट्रपतिले सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता अन्त्य गर्दै नागरिकले घरदैलोमै सरकार भएको अनुभूति गर्नुपर्ने बताए ।

आजका युवाको चाहना परिवर्तन भएको उल्लेख गर्दै उनले परम्परागत श्रम क्षेत्र मात्र पर्याप्त नहुने र श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए। साथै ‘देशमा केही हुँदैन’ भन्ने निराशाजनक धारणा परिवर्तन गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?