काठमाडौं । आज मुलुकले नयाँ उपसभामुख पाउँदैछ । जेनजी विद्रोहपछि भएको प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले सभामुख सर्वसम्मतरुपमा पाएपनि उपसभामुखका लागि भने निर्वाचन हुन लागेको हो ।
उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको समयभित्र दुई जनाको मात्र उम्मेदवारी परेको हो ।
आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकले उपसभामुखको छिनोफानो गर्ने भएको छ ।
श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारीलाई झन्डै दुईतिहाइ नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेकाले उनी नै उपसभामुख चुनिने निश्चितप्रायः छ । प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ ।
रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन् ।
त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया