काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कार मुद्दा दायर भएको छ ।
अमेरिकामा बसेर अध्ययन गरिरहेकी नेपाली छात्रा संगम विष्टले आफूमाथि अमेरिकामा बलात्कार भएको भन्दै प्रहरीमा एफआईआर दर्ता गरेकी हुन् ।
न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी)मा दुई दिनअघि एफआईआर दर्ता भएको जनाइएको छ । बलात्कारसम्बन्धी उजुरी परेपछि अमेरिकी प्रहरीले अनुसन्धान थालेको छ । यो मुद्दामा अमेरिकी प्रहरीले नेपालको प्रहरीसँग समन्वय गर्ने अपेक्षा छ ।
संगमको परिवारले कानुनी प्रक्रियाको विषयमा अहिले वकिलहरूसँग सरसल्लाह गरिरहेका छन् । नेपालमा पनि जाहेरी दिने वा नदिने भन्नेबारे निष्कर्षमा पुगिनसकेको पारिवारिक स्रोतको भनाइ छ ।
संगमले केही दिनअघि सागर लम्साल एक वर्षअघि अमेरिका आउँदा आफूलाई बलात्कार गरेको भन्दै फेसबुकमा स्ट्याटस लेखेकी थिइन् । एउटा कार्यक्रममा भेट हुँदा लम्साललाई आफ्नो फ्ल्याट देखाउन लगेको र त्यसक्रममा दाइजस्तो मानेको व्यक्तिले आफूलाई फ्ल्याटमै जबरजस्ती बलात्कार गरेको संगमको भनाइ थियो ।
संगमले स्ट्याटस लेखेको भोलिपल्टै नेपाल प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ । तर, नेपाल प्रहरीमा उनीविरुद्ध जाहेरी भने परेको छैन ।
पक्राउपछि काठमाडौं प्रहरीले कलाकार लम्साललाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको जनाएको थियो । सामाजिक सञ्जालमा उनीमाथि बलात्कारको आरोप लागेको भन्ने हल्ला फैलिएपछि प्रहरीले त्यसलाई पूर्ण रूपमा खण्डनसमेत गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार विज्ञप्ति नै जारी गर्दै लम्साललाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको जानकारी दिएको थियो । साथै, विभिन्न सामाजिक सञ्जाल र केही माध्यमबाट फैलाइएका अप्रमाणित तथा भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता भ्रम नफैलाउन आग्रह गरिएको थियो ।
नेपाल प्रहरीमा बलात्कारको जाहेरी नपरेको हुँदा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा ५ दिन म्याद थपेको थियो । अभद्र व्यवहारमा प्रमुख जिल्ला अधिकारीले बढीमा २५ दिन हिरासतमा राख्न सक्ने कानुनी प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया