काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता वामदेव गौतमले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै गौतमले ओलीमाथि गरिएको व्यवहार राजनीतिक र मानवीय दृष्टिले अनुचित भएको बताएका छन् ।
उनले अस्वस्थ तथा वृद्ध नेतालाई अपमानजनक ढंगले पक्राउ गर्नु लोकतान्त्रिक अभ्यास विपरीत भएको उल्लेख गरेका छन् ।
गौतमले कुनै पनि आरोप अदालतबाट प्रमाणित भएपछि मात्र कारबाही हुनुपर्ने जिकिर गर्दै हालको कदम कानुनी प्रक्रियाविपरीत भएको बताएका छन् ।
साथै, उनले सरकारलाई गल्ती सच्याउँदै न्यायपूर्ण ढंगले अघि बढ्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्
सम्मननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू !
प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा तपाईंलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
यस सन्दर्भमा तपाईंलाई केही ध्यानाकर्षण तथा सुझाव दिने प्रयत्न गरेको छु ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत हासिल गर्न सकेनन् । बाध्यात्मक अवस्थामा मिलीजुली सरकार सञ्चालन गर्नुपर्ने अवस्था आयो ।
यस वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र दमन तथा राष्ट्रिय विध्वंसको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार थियो र प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।
भाद्र २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यु भयो । त्यसपछि अरू धेरै व्यक्तिले घाइते अवस्थामा अस्पतालमै मृत्युवरण गरे । यो अत्यन्त दुखद र पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुन्छ भनेर अनुरोध गर्ने एकजना म पनि थिएँ । उहाँले राजीनामा दिनुभयो । त्यसपछि प्रतिनिधिसभा भङ्ग गर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री मनोनयन गर्ने अवस्था भयो ।
त्यसपछि फागुन २१ गतेको निर्वाचन घोषणा भयो । यी सबै घटनामा सम्माननीय राष्ट्रपतिले पनि अत्यन्त सकारात्मक रूपमा भूमिका निर्वाह गर्नुभयो ।
आज तपाई नेपालको ४३ औँ प्रधानमन्त्री बन्नु भएको छ । आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ ।
प्रधानमन्त्रीज्यू,
म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको वृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानबिन प्रतिवेदन सरकार समक्ष पेस भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारबाही प्रक्रिया अगाडि बढ्ने हो ।
प्रधानमन्त्री ज्यू !
हाम्रो संविधानबमोजिम कसैलाई मृत्युदण्ड दिइन्न । तर, संसारका अन्य राष्ट्रमा मृत्युदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ । केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियो । त्यसो नगरी रातारात घर घेरेर, एकाबिहानै पक्राउ गर्ने शैली गलत थियो । म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रूपमा पनि अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।
अन्त्यमा यहाँको सफल र प्रभावकारी कार्यकालका निम्ति फेरि पनि शुभकामना व्यक्त गर्दछु ।
हार्दिक अभिवादन सहित,
वामदेव गौतम
– पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री
– केन्द्रीय सदस्य, नेपाली कम्युनिस्ट पार्टी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया