संसद् अधिवेशन आजदेखि, तीन अध्यादेश पेस गरिने

लोकपथ
1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको झण्डै दुई साता पछि संघीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

संघीय संसद्अन्तर्गतको माथिल्लो सभा राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।

संविधानअनुसार राष्ट्रपतिले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले चैत ५ गते प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विभिन्न दलहरूको प्रतिनिधित्व रहेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसद रहेका छन् ।

यस्तो छ आजको सम्भावित कार्यसूची

आजको बैठकमा ज्येष्ठ सदस्य एवं सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रतिनिधिसभाले आफ्नै नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।

बैठकमा अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यक्रम पनि तय गरिएको छ । साथै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सभामुख पदको निर्वाचनका लागि निवेदन दिन मिति तोक्नेछन् ।

बैठकमा तीन वटा अध्यादेश पनि पेस गरिने सम्भावित कार्यसूची रहेको छ । जसअन्तर्गत ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।

बैठकको अन्त्यमा संविधानसभा तथा पूर्वसदस्यहरूको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?