काठमाडौं । नेकपा एमालेले संसदमा आफूलाई एक सजग ‘वाचडग’ (पहरेदार) को रूपमा प्रश्तुत गर्ने संकल्प गरेको छ ।
संसदीय दलको बैठकपछि बोल्दै संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीले प्रतिपक्षको भुमिकालाई सहर्ष स्वीकार गरेको र सदनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताएका हुन् ।
एमालेले सदनलाई मात्र नभई सडक र अदालतको मोर्चालाई पनि उपयोग गर्दै जनताका मुद्दा उठाउने बताएको छ ।
बिहीबारको संसद मुख्यतः परिचय र बधाई साटासाट गर्नै भएकाले संसद चल्न दिने बताए । आफ्ना आवाजहरु भने दृढतापूर्वक राख्ने उनको भनाइ छ ।
भोलि बस्ने सदनको बैठकबारे जानकारी दिँदै थापाले भने, ‘भोलिको सदन मुख्यतः परिचय र बधाई साटासाट गर्ने कार्यक्रम भएकोले हामीले कुनै अवरोध नगर्ने निर्णय गरेका छौँ । सदन चल्न दिन्छौँ, तर हाम्रा आवाजहरू र प्रश्नहरू भने दृढतापूर्वक उठाउनेछौँ ।’
सरकारलाई जवाफदेही बनाउन र आफ्ना घोषणापत्रका प्रतिबद्धताहरू पूरा गराउन एमालेले सदनमा रचनात्मक तर आक्रामक प्रतिपक्षको भुमिका निर्वाह गर्ने तयारी गरेको छ ।
आजको बैठकले पक्राउ परेका पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोध गरेको छ । साथै उनीहरुको बिनासर्त रिहाइको माग समेत गरिएको पार्टी उपाध्यक्ष समेत रहेका बादलले बताए ।
बैठकपछि बोल्दै उनले सरकारले प्रतिपक्षका नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरेको आरोप लगाए ।
एमालेले यस मुद्दालाई संसदीय मोर्चा, सडक र अदालतको मोर्चाबाट समेत सशक्त रूपमा उठाउने निर्णय गरेको छ ।
उनले भने, ‘यो गिरफ्तारी पूर्णतः गैरकानुनी र पूर्वाग्रहपूर्ण छ, यसले लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको छ ।’
नेता ओली र लेखकको रिहाइ नभएसम्म एमालेले आफ्नो आन्दोलन जारी राख्ने र सरकारलाई दबाब दिने रणनीति तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया