काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नाममा समानान्तर गतिविधि गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ ।
आज बसेको कांग्रेसको अनुशासन समितिको बैठकले पार्टीको समानान्तर गतिविधि गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।
त्यसो त विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको सभापति बने पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई कार्यवाहक सभापतिकै हैसियतमा कामकारबाही गरिरहेका छन् ।
आज बसेको कांग्रेस अनुशासन समितिको बैठकले अब उप्रान्त सो गतिविधि गरेमा पूर्णबहादुरलाई कारबाही गर्ने अनुशासन समितिका अध्यक्ष तारामान गुरुङले जानकारी दिए ।
बैठकपछि बोल्दै उनले भने, ‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ । साथै अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) र प्रचलित नेपालको कानुन बमोजिम कारबाही गरिने निर्णय गर्दछ ।’
त्यस्तै गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, असहयोग गर्नेहरुका विरुद्ध ५०७ वटा उजुरी परेको छ ।
त्यसरी प्राप्त उजुरीहरुलाई कांग्रेसले वर्गिकरण गरी कारबाही गर्ने चेतावनी दिएको हो ।
कांग्रेसले यसरी गरेको छ वर्गिकरण
– निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक वसेका ।
– निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका ।
– पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रुपमा विपक्षीलाई टेवा पुर्याएका ।
– निर्वाचनमा नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।
– नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।
माथि उल्लेखित वर्गिकरणमा परेकाहरुलाई ७ दिनभित्र स्पष्टीकरण दिन समेत निर्देशन दिइएको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया