काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले सरकारको १०० बुँदे कार्यसूची राम्रा हुँदाहुँदै पनि सरकार असमान सन्धि, सीमा र राष्ट्रिय सुरक्षा नीतिमा भने मौन देखिएको बताएका छन् । उनले १०० बुँदे कार्यसूची कार्यान्वयनमा पनि जोड दिएका छन् ।
उनले आज बिहान सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अभिरुचिका साथ पढियो । कार्यान्वयन भएमा धेरैजसो विषयहरू राम्रा छन् । तर सँगै विगतमा अत्यन्त चर्चित र संवेदनशील रहेका यस्ता विषयमा सरकार किन नबोलेको होला भन्ने ज्वलन्त प्रश्न अगाडि आयो ।’
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकको शुक्रबारको निर्णय शनिबार राति सार्वजनिक गरिएको थियो ।
उनले नेपालको राष्ट्रिय सुरक्षा नीति, मिचिएका वा अतिक्रमणमा परेका सीमाको सुरक्षा, नेपालको संविधानको धारा ५१ (ड) बमोजिम असमान सन्धि सम्झौताको पुनरावलोकन, माथिल्लो कर्णाली जलविद्युत आयोजना लगायत नेपालको जलस्रोत आयोजना सम्झौता विपरीत वर्षौँदेखि ओगटेर नेपाललाई क्षति पु¥याउने आयोजनाको भविष्यबारे सरकारको मौनता देखिएको बताएका छन् ।
पूर्वउपप्रधामन्त्रीसमेत रहेका डा.रावलले भनेका छन्, ‘नेपालको राष्ट्रिय सुरक्षा नीति, मिचिएका वा अतिक्रमणमा परेका सीमाको सुरक्षा, नेपालको संविधानको धारा ५१ (ड) बमोजिम असमान सन्धि सम्झौताहरूको पुनरावलोकन, माथिल्लो कर्णाली जलविद्युत आयोजनालगायत नेपालको जलस्रोत आयोजना सम्झौताविपरीत वर्षौंदेखि ओगटेर नेपाललाई क्षति पु¥याउने आयोजनाको भविष्य, नेपालको कानुन तथा अन्तर्राष्ट्रिय कानुन र प्रचलन विपरीत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विदेशी सुरक्षा जाँच चौकी, विषादीयुक्त खाद्यान्न, तरकारी र फलफूलको परीक्षण र नियन्त्रण, कृषिमा पुनःउत्पादन हुने बिउको आयात र बिगबिगी, नेपालमा विदेशी सवारी साधनहरूको अनियन्त्रित र मनपरी आवागमन र स्वदेशी व्यवसायीहरूको हितमा आघात, सवारी साधनमा राखिने इम्बोड्स नम्बरमा नेपाली भाषाको प्रयोगमा लगाइएको रोक र तत्सम्बन्धमा भएको भ्रष्टाचार, शिक्षा क्षेत्रमा भएको व्यथिति र अनियन्त्रित शुल्क असुली, कालोबजारी, तस्करी र अनियन्त्रित मूल्यवृद्धि, नेपालको कानुन र कूटनीतिक मर्यादाविपरीतका गतिविधिहरू आदि । यी बाहेक विगतमा धेरै बहस र छलफल भएका अन्य केही विषयहरू पनि छन् । त्यसबारे समयक्रममा चर्चा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया