काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।
बुधबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सामान्य बनाउँदै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार सफल भएको उल्लेख गरिन् ।
उनले भनिन, ‘यस निर्वाचनले देशमा संवैधानिक प्रणाली सुदृढ गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाएको छ र नयाँ राजनीतिक अध्यायको ढोका खोलेको छ ।’
उनका अनुसार मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको छ । ‘सरकार गठनको समय देशको सुरक्षा अवस्था संवेदनशील थियो, राजनीतिक दलहरू बिच संवादहीनता थियो र कानुनी–राजनीतिक शून्यता थियो । यी सबै चुनौतीबिच ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु सहज थिएन,‘उनले भनिन्
प्रधानमन्त्री कार्कीले यस निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ मानक स्थापना गरेको र मतदान प्रक्रियामा नवीन अभ्यासहरू लागू भएको बताइन् ।
उनले मतदाता नामावली सङ्कलन, युवा मतदातालाई समेट्नु, राष्ट्रिय परिचयपत्र प्रणालीसँग तथ्यांक अन्तरआवद्धता, मौज्दात सामग्रीको पुनःप्रयोग, स्वदेशी सामग्रीको प्रयोग र पारदर्शी खरिद प्रक्रियाले खर्च नियन्त्रणमा ऐतिहासिक उदाहरण प्रस्तुत गरेको दाबी गरिन् ।
उनले भनिन्,‘ निर्वाचनको लागि सुरक्षा व्यवस्थाका कारण कुनै मतदान केन्द्रमा पुनः मतदान आवश्यक नभएको छ । साथै, उनले सहयोग पुर्याउने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी र निर्वाचन आयोगलाई धन्यवाद दिइन् ।’
प्रधानमन्त्री कार्कीले आगामी सरकारले पनि यस प्रकारका अभ्यासहरू अनुशरण गर्ने विश्वास व्यक्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया