यी हुन् मातृभाषामा शपथ लिन चाहने ४७ जना सांसद, सूचीमा छन् विराजभक्त, मनिषदेखि खुस्बुसम्म

लोकपथ
203
Shares

काठमाडौं । प्रतिनिधिसभाका ४७ जना नवनिर्वाचित सदस्यले नेपाली बाहेकका भाषामा शपथ लिने भएका छन् । उनीहरूले १७ वटा मातृभाषामा शपथ लिन लागेका हुन् । 

प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यले भोलि बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम तय भइसकेको छ । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेस नेता अर्जुननरसिंह केसीले आज बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि भोलि बिहीबार २७४ सदस्यलाई केसीले शपथ गराउने कार्यक्रम छ । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, मनीष झा, मातृकाप्रसाद यादव, रामजी यादव, सीताराम साह, अंकिता ठाकुर, आशा झा, निशा मेहता, शम्भुकुमार यादव, उज्ज्वलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्र साह कलवार र जोगकुमार बरबरिया यादवले मैथिली भाषामा शपथ लिने भएका छन् । 

यसैगरी, गीता चौधरी, प्रमीलाकुमारी गच्छदार, अमरकान्त चौधरी, अशोककुमार चौधरी, सुरेन्द्र चौधरी तथा कठरिया थारु भाषामा करिश्मा कठरिया र राना थारु, कृपाराम राना थारु भाषामा शपथ लिनेछन् । 

नेपाल भाषामा मदनकृष्ण श्रेष्ठ, रुकेश रञ्जित, विराजभक्त श्रेष्ठ, अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगालक्ष्मी अवालले निवेदन दिएको संसद् सचिवालयले जनाएको छ । 

यसैगरी, संस्कृत भाषामा खुश्बु ओली, बान्तावा भाषामा ध्रुवराज राई, तामाङमा परशुराम तामाङ, चाम्लिङमा निष्कल राई, अवधिमा मोहम्मद इश्तियाक राई, छन्त्यालमा गंगा छन्त्याल, बझांगीमा ऐनबहादुर महर र मगर खाम भाषामा रेनुका काउचाले शपथ लिने भएका छन् । दीपकराज बोहरा, आकृति अवस्थी र हरिनादेवी कामीले डोटेली भाषामा शपथ लिने भएका छन् । 

यस्तै, भोजपुरी भाषामा कन्हैया बनियाँ, बुद्धिप्रसाद पन्त र रवीन्द्र पटेल, बजिका भाषामा नीतिमा भण्डारी कार्की र राजेशकुमार चौधरीले, मगही भाषामा प्रमोदकुमार महतो र राजकिशोर महतोले शपथ लिने संसद् सचिवालयले जनाएको छ ।  

संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्का प्रत्येक सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ लिनुपर्छ । मातृभाषामा पनि सांसदहरूले शपथ लिन पाउने व्यवस्था छ । तर यसका लागि संसद् सचिवालयले तोकेको समयसीमाभित्र सम्बन्धित सांसदहरूले त्यसको जानकारी गराउनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?