काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले विशेष महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरू आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पारे ।
उनले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भए पनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताए । उनले आफू कुनै पनि दबाबमा आएर नभई जिम्मेवारी र जबाफदेहिताको आधारमा राजीनामा दिएको बताए ।
उनले भने, ‘मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन । हामीले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर निर्वाचनमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरुले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन । मेरो राजीनामा सोच बनाइसकेपछि उपसभापतिलाई मेरो भावना सेयर गरेको थिएँ । म तत्कालै राजीनामा दिन चाहन्थेँ । निर्वाचनका सबै प्रक्रिया पूरा गर्नुपर्ने थियो त्यसकारण लम्बियो । यो दबाबमा मेरो राजीनामा दिएको थिएन । यो जवाफदेहिताको विषय हो । मेरो नेतृत्वमा हामी निर्वाचनमा गयौँ । त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हो ।’
उनले कांग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भूमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्त्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया