कांग्रेसको चुनावी समीक्षा– ‘२१ ठाउँमा अन्तर्घातको कारण हार्‍यौँ’

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिनुभयो । ३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उनले बताए ।

५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उनले बताए । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको उनले जानकारी दिए ।

केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उनको भनाई छ ।

उनले ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको काँग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको बताए । उनले पार्टीको सदस्यता विस्तार हुँदै जाने तर मत भने घट्दै जानु चिन्ताजनक भएको बताए ।

उनका अनुसार कांग्रेसको ९औँ महाधिवेशनमा करिव १ लाख सदस्य रहेका थिए । १४औँ महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या बढेर ८ लाख ७० हजार पुगेको छ, तर मत भने कांग्रेसले १७ लाख ५९ हजार ल्याएको छ ।

उनले कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी प्रदर्शन र आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा गरिरहेको जानकारी दिए ।

उनले भने, ‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ । यो भोटको माईग्रेसन मात्रै हो की माइन्डसेट नै माइग्रेसन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भिरतापूर्वक हेरिरहेका छौँ । ५ देखी ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ । ती सिट संख्याहरु २०–२१ वटा निर्वाचन क्षेत्रहरु छन् । त्यसको अतिरिक्त ३ हजारदेखि ५ हजार मत फरकमा पराजित हुनुको कारण निर्वाचन क्याम्पेनमा नै त्रुटी भएका कारणले हुनसक्छ । हामी त्यसमा समीक्षा गर्दैछौँ । ५ हजारदेखि १० हजारसम्मको ठूलो मार्जिनमा हामी पराजित भएका छौँ, कतिपय क्षेत्रहरुमा अन्तर्घात, क्याम्पेनमा समस्याका साथै केही न्यारेटिभका कारण पनि हामीलाई डिफेन्टिभ बनायो, त्यसमा हामी असफल भयौँ । कतिपय क्षेत्रमा संगठानत्मक कमजोरी मात्रै नभईकन अझ बढी केही ठाउँहरुमा ठूलो मतान्तरमा चुनावको नतिजामा फरक देखिएको छ, त्यसमा जनताको विश्वासमा नै प्रश्न उठेको हो की भन्ने छ । ८ लाख ५० हजार क्रियाशिल सदस्य रहेको पार्टीमा एउटा घरमा ४ जना सदस्य हुँदापनि ठूलो संख्यामा मत आउनुपर्ने थियो तर १७ लाख ५९ हजार मत मात्रै किन आयो ? यसमा प्रश्न पनि उठेको छ । हामीले ९औँ महाधिवेशनमा १ लाख सदस्य संख्या थिए, आज १४ औँ महाधिवेशनमा आइपुग्दा ८ लाख ७० हजार हुँदा क्रियाशील सदस्यको संख्या बढिरहेको छ, पार्टीको मत घट्दै गएको छ । यो कुराले अलि बढी चिन्तित तुल्याएको छ ।’

उनले जारी केन्द्रीय समितिको बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भईरहेको जानकारी दिए । बैठकले कांग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजानेगरी कार्यदिशा तय गर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?