काठमाडौं । निर्वाचनमा कांग्रेसले लज्जास्पद हार व्यहोरेपछि विशेष महाधिवेशन अघिको संस्थापन पक्ष (देउवा पक्ष)ले थप सक्रियता बढाएको छ ।
तत्कालीन सभापति शेरबहादुर देउवालाई पन्छाएर गगन थापा र विश्वप्रकाश शर्मा लगायतले विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित कांग्रेस निर्वाचनमा होमिएको थियो ।
अधिकांश नेताहरुले समेत विशेष महाधिवेशनपछिको नेतृत्व अर्थात् गगन थापाकै हस्ताक्षरको टिकट लिएर निर्वाचनमा गएका थिए । तर निर्वाचनको मुखमा विशेष महाधिवेशन भएका कारण पार्टीमा तिक्तता बढेको र पराजय भोग्नुपरेको देउवा पक्षको निष्कर्ष रहेको छ । यता वर्तमान संस्थापन (गगन थापा पक्ष) ले भने आफूहरुले पार्टीभित्र गरेको परिवर्तनलाई जनताले बुझ्न नसकेको र आफूहरुले बुझाउन नसकेको तर्क गरिरहेका छन् ।
यता कांग्रेसभित्र देखिने गरी समानान्तर गतिविधिहरु समेत हुने संकेत देखिएको छ । वर्तमान संस्थापनले पार्टी कार्यालय
सानेपामा केन्द्रीय समिति बैठक बोलाएर विभिन्न विषयमा छलफल गरिरहेका बेला देउवा पक्षले भने छुट्टै बैठक बोलाएको छ । तत्कालीन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर नेताहरुले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन् ।
त्यसका लागि आज धुम्बाराहीको एक होटलमा बैठक बसेको थियो । तर सो समूहका नेता डा. प्रकाशशरण महतले भने आफूहरुले बैठक बोलाउने कुनै निर्णय नगरेको दाबी गरे । लोकपथसँग कुरा गर्दै डा. महतले आफूहरुले भेटघाट गरेको र अन्य दिनहरुमा पनि भेटघाट र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने तयारी गरे पनि कुनै बैठक नबोलाइएको बताए ।
‘कुनै बैठक वा अरु त्यस्तै केही पनि निर्णय भएको छैन, आज भेटघाट मात्रै हो,’ उनले भने ।
केन्द्रीय समिति बैठक बोलाउनु भएको भन्ने छ? कहिले र कहाँ बोलाउनु भएको हो ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘त्यस्तो केही पनि छैन, भेटघाट मात्रै हो । सामान्य छलफल मात्रै हो । निर्वाचनमा पार्टीको पोजिसनबारे आम कार्यकर्तामा चासो र चिन्ता छ, त्यस विषयमा मात्रै छलफल गरेका हौँ ।’
यता निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि सभापतिबाट गगन थापाले राजीनामा दिएका छन् । तर केन्द्रीय समितिले उक्त राजीनामा अस्वीकार गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया