काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका ८२ हजार एक सय नेपाली नागरिकले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त जानकारी दिएका हुन् । उनका अनुसार दर्ता भएकामध्ये सुरुमा करिब ६ हजार जनाले आफूहरू असुरक्षित रहेको बताएका थिए ।
तर पछिल्ला दिनमा असुरक्षा महसुस गर्नेको संख्या उल्लेख्य रूपमा घट्दै गएको उनले बताए । इजरायल, अमेरिका र इरानबिच बढ्दो तनावका कारण मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको जनाइएको छ ।
क्षेत्रीका अनुसार प्रारम्भिक दिनमा सुरक्षा अवस्थाबारे जिज्ञासा आउने गरे पनि अहिले श्रम स्वीकृतिसम्बन्धी प्रश्न बढी आउने गरेका छन् । मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गरिरहेको जनाएको छ ।
हाल कुनै पनि नेपाली नागरिक विदेशी ट्रान्जिटमा नरहेको र जेद्दामा रहेका ५२ जना हज यात्रीसमेत स्वदेश फर्किसकेको मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यक परे उद्धारका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया