काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचन एउटै मितिमा सम्पन्न गर्नुपर्ने धारणा राखे ।
उनले संयुक्त निर्वाचन गर्दा खर्च घट्ने र प्रक्रिया थप प्रभावकारी हुने बताए । उनका अनुसार आगामी १३–१४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ भने प्रदेशसभा निर्वाचन २०८४ मंसिरमा तय छ । यी दुई निर्वाचनलाई एउटै मितिमा गर्न सके मितव्ययी हुने उनको तर्क छ ।
तर हालको कानुनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने उनले स्पष्ट पारे । त्यसका लागि करिब १० वटा निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत गर्दै एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
भण्डारीका अनुसार आयोगले उक्त ऐनको मस्यौदा तयार गरी दुई वर्षअघि नै सरकारलाई पठाइसकेको छ । हाल गृह मन्त्रालयमा विचाराधीन रहेको विधेयक संसद्ले छिट्टै पारित गर्नुपर्नेमा उनले जोड दिए ।
उनले निर्वाचन हुनुभन्दा कम्तीमा एक वर्षअघि ऐन–कानुन तयार नभए आवश्यक निर्देशिका, आचारसंहिता लगायतका संरचना बनाउन कठिन हुने बताए । आगामी अधिवेशनमै विधेयक पारित नभए २०८४ को निर्वाचन पनि पुरानै ढर्रामा सीमित हुने उनको चेतावनी थियो ।
भण्डारीले नवनिर्वाचित सांसदहरुलाई समाजमा देखिएको असन्तुलनलाई लयमा ल्याउने तथा आवश्यक कानुन निर्माणमा सक्रिय हुन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया