काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूले जनअपेक्षा पूरा गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार आयोजित सांसदहरूको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी हुँदै उनीहरूले जनताको आकांक्षा सम्बोधन गर्दै पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने लक्ष्य अघि सारेका हुन् ।
सांसद हरि ढकालले सुशासनका लागि मुहान सफा गर्नुपर्नेमा जोड दिए । उनले मूल संरचनाबाट सुधार सुरु भए मात्रै समग्र प्रणाली सुधारिने बताउँदै जनअपेक्षा पूरा गर्न व्यापक काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै संसद् प्रवेश गरेकी भूमिका श्रेष्ठले पछाडि पारिएका समुदायको अधिकार प्रवर्द्धन आफ्नो प्राथमिकता हुने बताइन् । उनले संसदबाट अल्पसंख्यक समुदायको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक न्यायका क्षेत्रमा देखिएको विभेद अन्त्य गर्न पहल गर्ने बताइन् ।
सांसद आशिका तामाङ ले आगामी पाँच वर्ष भ्रष्टाचार अन्त्यमा केन्द्रित हुने उल्लेख गर्दै सुशासन स्थापना नै देश विकासको आधार हुने बताइन् । उनका अनुसार भ्रष्टाचार नियन्त्रण भए देशले उल्लेखनीय प्रगति गर्नेछ ।
यस्तै, सांसद सागर ढकाल ले निर्वाचनताका सार्वजनिक गरिएको वाचा पत्र कार्यान्वयनलाई प्राथमिकता दिने बताए । उनले जनताका सानातिना आवश्यकता पूरा गर्दै दीर्घकालीन विकासको मार्ग तय गर्ने रणनीति रहेको स्पष्ट पारे ।
रास्वपाका सांसदहरूले जनतासँग गरिएको प्रतिबद्धता व्यवहारमा उतार्दै मुलुकलाई सुशासन र विकासतर्फ अघि बढाउने सामूहिक अठोट व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया