मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छ : श्रमविज्ञ नेपाल

लोकपथ
77
Shares

काठमाडौं । श्रमविज्ञ डा.रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त क्षेत्रमा रहेका धेरै नेपाली समस्यामा परेको बताए । सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएकोप्रति असन्तुष्टि जनाउँदै उनले धेरै नेपाली स्वदेश फर्किन चाहिरहेको उल्लेख गरे ।

द्वन्द्व जारी रहेकाले नेपाल फर्किन चाहनेहरूलाई उद्धार गर्न ढिलाइ गर्न नहुनेमा उनले जोड दिए । उनका अनुसार हालसम्म करिब ७० हजार नेपालीले सरकारको पोर्टलमा आफू असुरक्षित रहेको भन्दै नाम दर्ता गरिसकेका छन् ।

अवैध रूपमा काम गरिरहेका धेरै नेपालीहरू सरकारी रेकर्डमा नभएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने उनको भनाइ छ । अवैध रूपमा काम गर्न गएका नेपालीहरू कानुनी झन्झटमा पर्ने डरले पोर्टलमा नाम दर्ता गर्न हिच्किचाइरहेको उनले बताए ।

डा.नेपालले सरकारको प्रयास सकारात्मक भए पनि उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरे । उनले गर्भवती महिला, अवैध रूपमा बसेका नेपाली तथा उच्च जोखिम क्षेत्रमा रहेका श्रमिकहरूलाई प्राथमिकताका आधारमा उद्धार गर्नुपर्ने बताए ।

उनका अनुसार द्वन्द्वको अवस्थामा सबैभन्दा बढी असर आप्रवासी श्रमिकहरूमा पर्ने गर्दछ । सम्बन्धित देशहरूले आफ्ना नागरिकको सुरक्षामा ध्यान दिने गरे पनि बाह्य देशका नागरिकको सुरक्षामा भने अपेक्षित चासो नदेखाउने अवस्था रहेको उनले बताए ।

उनले त्यहाँ रहेका नेपालीहरू अत्यन्त त्रासमा रहेको भन्दै धेरैले आफूहरूलाई उद्धार गरिदिन सरकारसँग आग्रह गरिरहेको बताए ।

डा.नेपालले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको पनि बताए । ‘सुरक्षित रहनुहोस्’ भन्ने सामान्य सूचना मात्र दिइरहेको उल्लेख गर्दै उनले कसरी सुरक्षित रहने, कहाँ के भइरहेको छ भन्नेबारे स्पष्ट जानकारी दिनुपर्ने बताए । त्यहाँ रहेका नेपालीहरूलाई दिनमा दुई–तीन पटक वास्तविक अवस्थाबारे अद्यावधिक जानकारी दिन सरकारलाई उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?