काठमाडौं । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक अस्थिरता घटाउन सक्ने निष्कर्ष निकालेको छ ।
फिचका अनुसार रास्वपाको जितले नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधार कार्यान्वयनका लागि नयाँ अवसर प्रदान गर्ने सम्भावना बढाएको छ । पछिल्ला वर्षहरूमा कुनै पनि पार्टीले पूर्ण जनादेश नल्याउँदा राजनीतिक अस्थिरता बढ्दै आएको र लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको थियो।
फिचले भनेको छ, ‘रास्वपाको जीतले बारम्बार हुने अप्राकृतिक गठबन्धनको जोखिम कम गर्नेछ। विगतका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा लगानीकर्ताहरूको आत्मविश्वास कमजोर हुँदै आएको थियो, तर अब त्यसमा सुधार आउन सक्छ ।’
साथै, फिचले रास्वपाले वाचापत्रमा राखेका कतिपय आर्थिक लक्ष्यहरू महत्वाकांक्षी रहेको र ती पूरा गर्न चुनौतीपूर्ण हुने जनाएको छ । रास्वपाले आगामी पाँच वर्षमा औसत ७।५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने र प्रतिव्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । फिचका अनुसार हालको स्थितिमा यी लक्ष्यहरू भेट्न कठिन हुने देखिन्छ ।
नोभेम्बर २०२५ मा फिचले नेपालको क्रेडिट रेटिङ बीबी माइनसमा राखेको थियो। रेटिङको क्रममा नेपालको कम वैदेशिक ऋण भार, मजबूत बाह्य तरलता, जलविद्युतमा आधारित मध्यमकालीन वृद्धि सम्भावना र आईएमएफ कार्यक्रमको सफल कार्यान्वयनलाई सकारात्मक पक्षका रूपमा देखाइएको थियो । तर प्रतिव्यक्ति आय र सुशासनका सूचक अन्य बीबी श्रेणीका देशको तुलनामा कमजोर देखिएका छन् ।
फिचले नयाँ सरकारका लागि ‘कार्यान्वयन क्षमता’लाई मुख्य जोखिमको रूपमा चिन्हित गरेको छ। नेपालको कमजोर सरकारी प्रभावकारिता र नियामक गुणस्तरले सुधारका कार्यहरूमा अवरोध पुर्याउन सक्ने चेतावनी दिइएको छ । निजी र वैदेशिक लगानी भित्र्याउन सरकारले व्यावसायिक वातावरण सुधार, जबाफदेहिता र भ्रष्टाचार नियन्त्रणमा ठोस कदम उठाउनु पर्ने फिचले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया