इरानले विश्वकप नखेल्ने, भन्यो– ‘हाम्रा नेताको हत्या गर्ने सरकारको देशमा गएर खेल्ने कुनै परिस्थिति छैन’

लोकपथ
259
Shares

काठमाडौं । इरानले सन २०२६ को विश्वकप नखेल्ने भएको छ । यद्यपि, इरानले फिफालाई यसको औपचारिक जानकारी दिन बाँकी रहेको छ । 

पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परिरहेको बेला इरानका खेलकुद मन्त्री अहमद दुनियामालीद्वारा व्यक्त भनाइले इरानले विश्वकपमा सहभागिता जनाउने सम्भावना देखिँदैन । इरानका खेलकुद मन्त्री दुनियामालीले आफ्नो देश २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका छन् । 

उनले सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘हाम्रा नेताको हत्या गर्ने भ्रष्ट सरकारको देशमा गएर खेल्ने कुनै परिस्थिति छैन । हाम्रा खेलाडीहरू त्यहाँ सुरक्षित छैनन् बितेका ८–९ महिनामा हामीमाथि दुईवटा युद्ध लादिएको छ र हाम्रा हजारौं मानिस सहिद भएका छन् । त्यसैले हामी विश्वकपमा सहभागी हुन सक्ने कुरै छैन ।’

इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि विश्वकपमा सहभागिताबारे प्रश्न उठाएका छन् । उनले हालै अस्ट्रेलियामा भएको एसियन कप खेल्न गएका इरानी महिला टोलीका ६ जना सदस्यले सुरक्षाको कारण देखाउँदै अस्ट्रेलियामा शरण मागेको घटनालाई इंगित गर्दै भने, ‘महिला खेलाडीहरूसँग त्यस्तो व्यवहार भएको अवस्थामा, कुनै पनि समझदार व्यक्तिले आफ्नो टोली अमेरिका पठाउन मान्दैन ।’

विश्वकप फुटबलमा इरानको सहभागिता अनिश्चित हुँदै जाँदा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए । सो भेटमा ट्रम्पले इरानलाई विश्वकपमा ‘स्वागत छ’ भनेको बताएका थिए ।

यो पटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गर्दैछ । जुन ११ देखि सुरु हुने विश्वकपमा इरानले जुन १५ मा न्युजिल्याण्ड, जुन २१ मा बेल्जियम र जुन २६ मा इजिप्टसँग खेल्नुपर्ने कार्यतालिका छ । 

इरान बाहिरिए के हुन्छ ?

यदि इरान विश्वकपबाट बाहिरिए उसको ठाउँमा कुन देशलाई राख्ने अधिकार फिफालाई हुने छ । फिफाले नै यो विषयमा निर्णय लिने छ । एसियाली राष्ट्रहरू इराक वा संयुक्त अरब इमिरेट्समध्ये एकले मौका पाउन सक्ने अनुमान गरिएपनि अर्कै महादेशको टोली पनि खेल्न सक्छ । फिफाको नियमअनुसार अर्कै महादेशको टोलीलाई पनि छनोट गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?