धन्यवाद प्रधानमन्त्री सुशीला कार्की

लोकपथ
14
Shares

मञ्जु भट्ट । काठमाडौं

माघ १९ गते प्रहरी प्रशिक्षण प्रतिष्ठान पुग्दा देश चुनावमय बन्दै थियो । प्रहरी निरीक्षकको पास आउट कार्यक्रम भएकाले प्रमुख अतिथि बनेकी प्रधानमन्त्री सुशीला कार्कीलाई प्रत्यक्ष देख्दा लाग्यो उनले अब तयार प्रहरी अधिकृतलाई अन्तिम सलामी थापेर एक युगको दस्ता तयार पारेकी छिन् । युवा दस्ता तयार पार्दै गर्दा प्रधानमन्त्री कार्की भने एउटा मिसनमा थिइन् । जेनजी विद्रोहपछि प्रधानमन्त्री बनेकी कार्कीले प्रतिनिधिसभाको चुनाव गरेर देशलाई स्थिरता दिने मुख्य ध्येय उनको थियो ।

६ महिना अघि देश कलिला कोपिलाहरूको रगतले लतपतिएको थियो । त्रासदीपूर्ण २४ घण्टामा लाग्थ्यो देश खरानी भयो । हाम्रो भविष्य पनि खरानी भयो । खरानीमाथि उभिएको देशलाई निकास दिन पुलको रूपमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई अघि सारियो । कतै देश कुनै चक्रब्यूहमा फसेर अड्कोको अड्कियै हुने त होइन ? लामो समय लागेर थप अस्थिरताले भविष्य मात्र होइन वर्तमान पनि अँध्यारोतिर जाने त होइन भन्ने संशय थियो । सो संशयलाई चिर्न निर्वाचन कार्यतालिकालाई संशोधन गर्न तयार भएनन् प्रधानमन्त्री कार्की ।

निलो बर्दी लगाएकै भरमा कर्तव्य पालनामा खटिएका निर्दोष प्रहरीले पनि उत्तेजक भिडले कुटी कुटी मरण पर्नुपर्ने दिन नआओस् । परिवारका सदस्य नेपाल प्रहरीको सेवक भएकै भरमा कसैको सिउँदो नपुछियोस् । कसैको सहारा नगुमोस् । कसैको कोख नरित्तियोस् । प्रहरी जागिरे बाबा भएकै भरमा कोही टुहुरो बन्न नपरोस् ।

जेनजी आन्दोलनका शहीदको रगतले लिपिएको र खरानी रङले भरिएको मैदानलाई फेरी पुरानै लयमा फर्काउन पर्ने थियो । ढिलै भए पनि पुरानै गतिमा देशलाई बढाउनुपर्ने अवस्थाबाट आइपरेको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखिनन् प्रधानमन्त्री कार्कीले । यस बिचमा प्रधानमन्त्री कार्कीले विभिन्न असहजतालाई चिर्दै अघि बढिन् । प्रधानमन्त्री स्वयंमले भने अनुसार विभिन्न समूहबाट आएको दबाब थेगेर ‘मिसन इलेक्सन’ बनाएर लागेकी प्रधानमन्त्रीको अडान नै निर्वाचन गराउने मुख्य कडी बन्न पुग्यो । प्रधानमन्त्री कार्कीको यो कदम अति नै सम्मानजनक छ प्रधानमन्त्री कार्की यसप्रति जति सम्मान दिए पनि कमी हुनेछैन ।

उनले देशलाई यस्तो बेला नेतृत्व गरेकी थिइन्, जतिबेला चारैतिर संवैधानिक रिक्तता थियो । यही बिचमा बिरामी देशलाई गन्तव्यमा पुर्‍याउने सारथि बनिन् । देशलाई झुक्नबाट जोगाइन्, यो कदमलाई हृदयदेखि सम्मान छ प्रधानमन्त्री कार्कीप्रति ।

प्रधानमन्त्रीको रूपमा कार्कीले गरेको यो कामले हामी सबै महिलाहरूलाई धेरै प्रेरणा मिलेको छ, साहस आएको छ ।

प्रधानमन्त्रीको रुपमा मात्र नभएर एउटी आमाले आफ्नो घर जोगाउन के के गरिन् इतिहासले सम्झने छ, उनीप्रति सदैव गर्व गर्नेछ ।

६ महिनामा आफूलाई नै बिर्सेर लतपतिएको रगतलाई इतिहासमा सुरक्षित गरेर भविष्यमा यस्तो कहिले नहोस् भनेर संवैधानिक निचोडको बाटो देखाउने कामको नेतृत्वलाई देशले पनि युग युग सम्झिरहनेछ । जेनजी विद्रोह अघिको पृष्ठभूमि अब कहिले नदोहोरियोस् । देशभित्र अधिकार, सुशासन, विधि र सक्षम नेतृत्व माग्दा कसैले पनि ज्यान दिन नपरोस् ।

निलो बर्दी लगाएकै भरमा कर्तव्य पालनामा खटिएका निर्दोष प्रहरीले पनि उत्तेजक भिडले कुटी कुटी मरण पर्नुपर्ने दिन नआओस् । परिवारका सदस्य नेपाल प्रहरीको सेवक भएकै भरमा कसैको सिउँदो नपुछियोस् । कसैको सहारा नगुमोस् । कसैको कोख नरित्तियोस् । प्रहरी जागिरे बाबा भएकै भरमा कोही टुहुरो बन्न नपरोस् ।

प्रहरीभित्र पनि कमान्डको नाममा मानवता नहराओस् । सङ्गठनको साथी बचाउन सिङ्गो सङ्गठन एक ठाउँमा उभियोस् । बागमती र रुद्रमतीका ढलमिश्रित पानीमा बर्दी चिथोरेर नांगेझार बनाएर कोही प्रहरी अधिकृतको हुर्मत नलिइयोस् । आफ्नै नागरिकको सुरक्षा गर्दा गर्दै सोही नागरिकका राक्षस रूपबाट कहिल्यै डराउन नपोस् ।

कर्तव्य पालनाको नाममा प्रहरीबाट हुने मूर्ख शैली र मुढे बल पनि अब नदेखियोस् । नारामामात्र होइन हर प्रहरीको हातमा होस् प्रहरी मेरो साथी ।

देशको अत्यन्तै जटिल र चुनौतीपूर्ण घडीमा कुशल नेतृत्व प्रदान गरी मुलुकलाई निकासको मार्गमा डोर्‍याउँदै निर्वाचनको सङ्घारसम्म पुर्‍याइएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू प्रति हार्दिक आभार अनि धन्यवाद ।

(यो लेखकको निजी विचार हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?