महावीरलाई पोखराका मेयरको सुझाव : ‘फुटपाथको नियम सबैलाई लाग्छ, व्यवसायीमार्फत किताब बेचौँ’

लोकपथ
91
Shares

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पूर्वमन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई आफ्नो अभियानका लागि सडक र चोकमा उभिएर पुस्तक बिक्री गर्नु उपयुक्त नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर आचार्यले सडकमा यसरी अनुमतिबिना पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर परेको र कानुनविपरीत हुने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गर्न सुझाव दिएका हुन्  ।

उनले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान र सादगीको प्रशंसा गर्दै भनेका छन्, ‘सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक सवाल–जवाफ र विवाद सिर्जना हुनसक्छ, जुन तपाईँको उचाइसँग मेल खाँदैन ।’

मेयरले भने, ‘फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईँमाथि पनि लागू हुन्छ । दर्ता र आवश्यक अनुमतिबिना कुनै पनि वस्तु बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुनसक्छ ।

तपाईँको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो, हाम्रो भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो । यदि तपाईँको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने, हामी महासंघमार्फत बिक्री गरी उचित भुक्तानी उपलब्ध गराउन सक्छौँ । यसले तपाईँको अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?