काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
आइतबार जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले उक्त प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन् । उक्त प्रतिवेदन सार्वजनिक हुने वा नहुनेमा शंका उत्पन्न भइरहेका बेला पूर्वमन्त्री समेत रहेका नेता केसीले प्रतिवेदन कार्यान्वयन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
‘आयोगको प्रतिवेदनलाई तत्काल सार्वजनिक गर्नु अनिवार्य छ। साथै आन्दोलनका दोषीहरु उपर न्यायिक कारवाहीको प्रक्रिया सुरु गरिहाल्नु पर्छ । यो बर्तमान सरकार को अनिवार्य र प्राथमिक दायित्व हो,’ उनले भनेका छन् ।
त्यस्तै २०४६ सालको जनआन्दोलन र ०६२–०६३ को जनआन्दोलनबारे छानबिन गर्न बनेका आयोगका प्रतिवेदन सार्वजनिक नभए जस्तो यो आयोगको प्रतिवेदन सार्वजनिक नहुने हो भने देशमा दण्डहीनता मौलाउने उनको जिकिर रहेको छ ।
‘२०४६ सालको जनआन्दोलनका दोषीहरू उपर कारबाही गर्न पूर्वन्यायाधीश जनार्दनलाल मल्लिकको अध्यक्षतामा गठित ‘मल्लिक आयोग’ र २०६२–६३ को जनआन्दोलन दमनका दोषीहरूउपर छानबिन समिति र पूर्वन्यायधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित ‘रायमाझी आयोग’ को प्रतिवेदन सार्बजनिक नगरे झै उन्मुक्ति दिने हो र जनतामा परेको आम निरासा र अविश्वासलाई निरन्तरता दिने धृष्टता गरियो भने त्यो ज्यादै भयानक प्रत्युत्पादक हुनेछ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया