काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि महिलामाथि असमानता र हिंसा पूर्ण रूपमा अन्त्य नभएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले महिलाहरू समाज परिवर्तनका महत्त्वपूर्ण शक्ति भएको बताएका छन् । विगतका विभिन्न आन्दोलन र संघर्षमा महिलाले देखाएको साहस, त्याग र बलिदानका कारण आज धेरै अधिकार प्राप्त भएको उनले उल्लेख गरेका छन् ।
तर व्यवहारिक जीवनमा अझै पनि महिलामाथि असमानता र हिंसा पूर्ण रूपमा अन्त्य नभएको उनको भनाइ छ । स्वतन्त्रता र अधिकारको नाममा बजारमुखी पुँजीवादी व्यवस्थाले महिलामाथि नयाँ–नयाँ प्रकारका शोषण र असमानता पनि सिर्जना गरिरहेको बताए ।
प्रचण्डले सबै प्रकारका शोषण र विभेद अन्त्य गरी महिलालाई वास्तविक समानता दिलाउने दिशामा अबका प्रयास केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले संविधानले दिएको अधिकारको रक्षा गर्दै राज्यका सबै तहमा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै समानता, सम्मान र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि सबैलाई एकजुट हुन उनले आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया