निर्वाचनले लोकतन्त्र सुदृढ र सुशासन स्थापना गर्नुपर्छ : केपी शर्मा ओली

लोकपथ
56
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताएका छन् । 

बिहीबार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने ओलीको भनाइ छ । 

उनले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गरे । उनले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण तथा संवर्द्धनमा निर्वाचनले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखे ।  

उनले भने, ‘यस निर्वाचनले देशमा लोकतन्त्रको पुनः स्थापना गर्नुपर्दछ । अराजनीतिक र  अराजक क्रियाकलाप, हिंसात्मक गतिविधि र हिंसात्मक प्रवृत्तिहरूलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण योगदान गर्नुपर्दछ । यसले लोकतान्त्रिक बाटोबाट फेरि संविधानलाई ट्र्याकमा ल्याएर देशलाई स्थिरता र स्थायित्वका साथ देशलाई सुशासनको बाटोमा अगाडि बढाउनुपर्दछ । देशको शान्ति, सुव्यवस्थाका साथै मुख्य कुरा देशलाई बचाउने कुरा छ । देशको अस्तित्व, देशको स्वाधीनता र राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धन गर्नुपर्नेछ । यस निर्वाचनले शान्तीको पक्षमा भएका, सुशासनको पक्षमा भएका, विकासको पक्षमा भएका अनुभवी, देशभक्तहरूलाई अत्याधिक बहुमतले विजयी गराउनुपर्नेछ ।’

उनले शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?