प्रधानमन्त्री कार्कीले धापासीबाट मत हाल्ने, अतिविशिष्ट पदाधिकारीदेखि शीर्ष नेताले कहाँबाट हाल्दैछन् ?

लोकपथ
77
Shares

काठमाडौं । आज प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा गई मतदान गर्दैछन् । 

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टोखा नगरपालिकाको धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने भएकी छिन् । यस्तै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । 

पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित बिपी कोइराला मावि मतदान केन्द्रबाट र अर्का पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ भंगाालस्थित साबिकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । 

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम मतदाता नामावली सूचीमा डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा रहेको छ । यहाँको मतदाताको केन्द्र असिग्राम मावि रुवाखोला हो । तर यसपटक देउवा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी हुने छैनन् । 

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट र नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । 

नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रको मतदानस्थलमा नामावली समावेश छ । 

यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

यसैगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको मैतीदेवीस्थित मयुर कुण्ड मतदान केन्द्रबाट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रबाट र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गर्ने भएका छन् । 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठा मतदान केन्द्रबाट,  रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट, नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट, एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्रबाट र एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । 

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं महानगरपालिका–६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट,  कांग्रेस नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोलबाट, अर्का कांग्रेस नेता डा. शेखर कोइरालाले मोरङको विराटनगर–७ आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।

यस्तै, कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट, नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावि मतदान केन्द्रबाट र अर्का नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

यस्तै, एमाले नेताहरू ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट, सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । 

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय मतदान केन्द्रबाट र नेकपाका नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले काठमाडौं महानगरपालिका–१६ र स्वर्णिम वाग्लेले गोरखा सहिद लखन थापा गाउँपालिकाबाट मतदान गर्ने भएका छन् । 

यसैगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रबाट, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडाबाट र आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । मुख्यसचिव सुमनराज अर्यालले गोकर्णेश्वर नपा–६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । 

शताब्दी पुरुष एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरीशंकरलाल दासले काठमाडौं महानगरपालिका–७ सिफलचौर मतदान केन्द्रबाट,  त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ललितपुर महानगरपालिका–२ सानेपास्थित राजघाट मतदान केन्द्रबाट,  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं महानगरपालिका विशालनगरस्थित विशाल मिलन केन्द्र मतदान केन्दबाट मतदान गर्ने भएका छन् ।

यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुलेश्वरस्थित कृषि सामग्री संस्थान मतदान केन्द्रबाट, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले काठमाडौंको पद्मकन्या मावि डिल्लीबजार मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?