रुपन्देही–२ मा के–के छ विष्णु पौडेलको एजेण्डा ?

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउने संकल्प लिएको बताएका छन् ।

फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बोल्दै नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धि र सुशासनको बाटोमा अघि बढाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारे ।

मुलुकमा समृद्धि र सामाजिक न्याय त्यसै प्राप्त नहुने बताउँदै उहाँले त्यसका लागि सही सोच, दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्ने र आफ्नो उम्मेदवारी तिनै राष्ट्रिय उद्देश्य पूरा गर्न केन्द्रित रहेको बताए ।

रुपन्देही जिल्लालाई पूर्वाधार र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन आफूहरु सफल भएको दाबी गर्दै पौडेलले अबको योजना निर्माण सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापन र निर्माणाधीन आयोजनाको सफल कार्यान्वयन रहेको बताए । यसका साथै जिल्लामा थप नयाँ र ठूला आयोजनाहरु शुरु गर्ने उनको भनाइ छ ।

उनले भने, ‘फागुन २१ सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा म रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको छु । मेरो उम्मेदवारी समग्रतामा संविधानको रक्षा, लोकतन्त्रको रक्षा, समृद्धि र सामाजिक न्यायको यात्रामा मुलुकलाई अगाडि बढाउनका लागि हो । राजनीतिक स्थायित्व र सुशासनका लागि हो । समृद्धि यसै प्राप्त हुँदैन, सामाजिक न्याय यसै प्राप्त हुँदैन त्यसका निम्ति सही सोच, सही दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्दछ । त्यस हिसावले यी उद्देश्यहरु हासिल गर्नका लागि हो । जहाँसम्म रुपन्देही क्षेत्र नम्बर २ को सन्दर्भ छ, रुपन्देही क्षेत्र नम्बर २ को सन्दर्भमा रुपन्देही जिल्लाको सन्दर्भमा मेरो उम्मेदवारीको प्रयोजन, हामीले यसबीचमा रुपन्देही जिल्लालाई देशकै पूर्वाधार विकास र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन सकेका छौं । गर्व गर्न लायक धेरै ठूला पूर्वाधारका आयोजनाहरु सम्पन्न भएका छन् या त निर्माणाधिन अवस्थामा छन् । मेरो उम्मेदवारी निर्माण सम्पन्न भएका आयोजनाहरुको प्रभावकारी व्यवस्थापन र सञ्चालन गर्नका लागि हो, निर्माणाधिन अवस्थामा रहेका आयोजनाहरुको प्रभावकारी ढंगले कार्यान्वयनका लागि हो र अरु केही नयाँ ठूला आयोजनाहरु शुरुवात गर्नका लागि हो । र मैले यो रुपन्देही जिल्लालाई शिक्षाको केन्द्र बनाउन चाहेको छु, स्वास्थ्यको केन्द्र बनाउन चाहेको छु, रोजगारी, स्वरोजगारी र आयआर्जनको केन्द्र बनाउन चाहेको छु । यहाँका विद्यार्थी विद्यालय शिक्षा र उच्च शिक्षाका निम्ति देशका अन्य भागमा वा अन्यत्र जान नपरोस् । यहाँका नागरिकहरु उपचारको निम्ति अन्यत्र जान नपरोस्। रोजगारीका निम्ति नयाँ नयाँ सम्भावनाहरु यही जिल्ला भित्र उपलब्ध हुन सकुन् । स्वरोजगारीका नयाँ नयाँ सम्भावनाहरु यही उपलब्ध हुन सकुन् ।यस उद्देश्यका साथ मैले यो जिल्लालाई भौतिक र मानवीय विकासका दृष्टिकोणले देशको नमुना जिल्ला बनाउने मेरो संकल्प छ । यही संकल्प, यही उद्देश्य हासिल गर्नका लागि मेरो उम्मेदवारी हो ।’

नेता पौडेलले रुपन्देहीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको मुख्य केन्द्र बनाउने आफ्नो मुख्य लक्ष्य रहेको सुनाए । उनले जिल्लामै रोजगारी र स्वरोजगारीका नयाँ–नयाँ सम्भावनाहरु सिर्जना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

भौतिक विकाससँगै मानवीय विकासलाई सँगसँगै अगाडि बढाएर रुपन्देहीलाई देशकै सर्वोत्कृष्ट र नमूना जिल्ला बनाउने संकल्पका साथ आफू चुनावी मैदानमा होमिएको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?