होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : सभापति थापा

लोकपथ
49
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागु पूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश दिने  बताएका छन् । 

होलीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागु पूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व भएको बताएका  हुन् । 

नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराईमा फागुन १९ गते अत्यन्त उत्साहका साथ एक–अर्कालाई रङ लगाई खुसी साटासाट गर्दै यो पर्व मनाइन्छ ।

सभापति थापाले विविध रङहरूजस्तै हाम्रो समाज पनि विविधतापूर्ण रहेको र यही विविधताबिचको एकता नै नेपालीको विशिष्ट पहिचान भएको  बताए । उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने बताए । 

‘यस पटक फागु पूर्णिमासँगै हामी प्रतिनिधिसभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्त्वपूर्ण उत्सवको सम्मुखमा छौँ । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु”, सभापति थापाले  भने 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पूर्णिमा (होली) ले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी उनले शुभकामना व्यक्त गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?