काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीति अब सरकार बनाउने र टिकाउने फोहोरी खेलबाट बाहिर निस्कनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी ५ वर्षको समयलाई ‘परिणामको समय’ बनाउनुपर्नेमा जोड दिए ।
उनले राजनीतिक नेतृत्वको सम्पत्ति छानबिनदेखि मध्यम वर्गलाई आर्थिक राहत दिनेसम्मका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै कांग्रेसले अबको निर्वाचनपछि सुशासनको नयाँ मानक स्थापित गर्ने दाबी गरे ।
थापाले विगतका वर्षहरूमा सरकार बनाउने र टिकाउने धन्दामा सबै दलहरू अल्झिएको स्वीकार गर्दै अबको संसदले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्ने बताए ।
‘३२ सिट हुनेलाई पनि प्रधानमन्त्री चाहिने र थोरै सिट हुनेलाई पनि गृहमन्त्री नै चाहिने प्रवृत्तिले देश विकास हुन सकेन,’ उनले भने, ‘अबको ५ वर्ष हामी एक क्षण पनि खेर नफालिकन सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौँ ।’
सभापति थापाले सुशासनका लागि कांग्रेसको स्पष्ट प्रस्ताव रहेको उल्लेख गर्दै सरकार बनेको पहिलो हप्तामै शक्तिशाली सम्पत्ति छानबिन आयोग बनाउने घोषणा गरे । उनले यो छानबिनको सुरुवात आफ्नै पार्टीका सभापति र आफैँबाट हुने बताए ।
‘छानबिन कहाँबाट सुरु हुन्छ ? पहिलो नम्बरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हुन्छ, दोस्रोमा गगन थापाको हुन्छ । जब हामी आफ्नै नेताहरूको छानबिन गर्छौं, तब मात्र केपी ओली वा प्रचण्डको सम्पती छानबिन गर्ने नैतिक बल पुग्छ,’ उनले भने ।
उनले राजनीतिक र आर्थिक भ्रष्टाचार गर्ने जो कोहीले पनि दण्ड पाउनुपर्ने र यसका लागि कांग्रेसले कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरे ।
त्यस्तै उनले देशको अर्थतन्त्र सुस्ताएको र बजारमा विश्वास डगमगाएको भन्दै थापाले मध्यम वर्गलाई चलायमान बनाउन नयाँ आर्थिक प्रश्ताव अघि सारे । उनले वार्षिक १० लाख रुपैयाँसम्म कमाउने नेपालीले एक रुपैयाँ पनि कर तिर्नु नपर्ने व्यवस्था गर्ने संकल्प गरे ।
‘जब मध्यम वर्गको खल्तीमा पैसा बच्छ, तब मात्र उसले खर्च गर्ने आँट गर्छ र बजार चलायमान हुन्छ,’ उनले भने ।
बैंकहरूमा पैसा थुप्रिए पनि लगानी हुन नसकेको अवस्थालाई चिर्न यो कदम कोशेढुङ्गा सावित हुने उनको विश्वास छ । साथै, उहाँले स्वास्थ्य उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने गरी बिमा प्रणालीलाई प्रभावकारी बनाउने योजना पनि सुनाए ।
फागुन २१ को निर्वाचनलाई थापाले भावनात्मक र जिम्मेवारीपूर्ण रूपमा व्याख्या गरे । उनले भाद्र २३ को घटनामा छोरा गुमाएकी आमाको प्रसङ्ग निकाल्दै यो निर्वाचनले ती आमालाई न्याय दिनुपर्ने बताए ।
‘चुनावमा पार्टीहरूले जित्ने वा हार्ने कुरा गौण हो, तर छोरा गुमाएकी त्यो आमा यो चुनावमा हार्नुहुन्न,’ उनले भने ।
युवाहरु जुन कारणले सडकमा आएका थिए, त्यसको सम्बोधन अबको ५ वर्षभित्र हुन सकेन भने लोकतन्त्र र राजनीतिको अर्थ नरहने उनको तर्क थियो ।
पछिल्लो समय राजनीतिमा ‘नयाँ’ र ‘पुरानो’ बीच भइरहेको बहसलाई चिर्दै थापाले कांग्रेस पुरानो मूल्य र मान्यता बोकेको तर नयाँ युगको चेतना भएको पार्टी भएको दाबी गरे ।
‘प्रत्येक नयाँ आफैँ पुरानो हुन्छ, तर हामी हाम्रा संस्थापक नेताहरूले स्थापना गरेका मूल्य र मान्यतालाई अझ दह्रोसँग बोक्छौँ,’ उनले भने ।
उनले उत्तेजना र घृणाको राजनीतिले मुलुकलाई कतै नपुर्याउने भन्दै काठमाडौं सधैँ सत्य र न्यायको पक्षमा उभिने विश्वास व्यक्त गरे । उनले कार्यकर्ताहरूलाई ‘एक व्यक्ति, १० नयाँ सम्पर्क’ को अभियान चलाउन र कांग्रेसको संकल्प घर–घर पुर्याउन निर्देशन समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया