सुदिपा अधिकारी/काठमाडाैं । फागुन २१ को निर्वाचनका लागि अब मौन अवधि सुरु हुन एक दिन मात्र बाँकी छ । निर्वाचन आयोगका अनुसार फागुन १८ गते राति १२ (भोलि) बाट मत माग्न पाइँदैन ।
निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ र पूराना शक्तिबिचको संघर्ष जस्तो देखिन पुगेको छ । खासगरी नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूराना दलहरुका कारण मुलुकमा विकास हुन नसकेको भन्दै मतदाताहरुसँग मत मागिरहेको छ । यता पूराना राजनीतिक दलहरु भने रास्वपासँग नयाँ एजेण्डा नभएको भन्दै आफ्नो पक्षमा माहोल बनाउने व्यस्त देखिएका छन् ।
देशका हरेक जसो निर्वाचन क्षेत्रमा नयाँ र पूराना शक्तिहरुबिच संघर्ष चलिरहेका बेला ललितपुर क्षेत्र नं २ मा समेत निर्वाचनको माहोल तातेको छ । उक्त क्षेत्रमा बहुदलपछि अर्थात् २०४८ साल यताका सात वटा निर्वाचनमध्ये पाँच पटक नेकपा एमालेले जित हात पारेको छ । साथै बाँकी २ निर्वाचनमध्ये नेपाली कांग्रेसले एक र तत्कालीन नेकपा माओवादीले एकएक पटक जित निकालेका छन् ।
नेवारी समुदायको बाहुल्य रहेको सो क्षेत्रमा हरेक निर्वाचनमा नेवारी समुदायकै उम्मेदवारले जित हासिल गरेका छन् ।
त्यसैले यहाँको निर्वाचनलाई कतिपयले परम्परागत प्रभाव, स्थानीय पहिचान र संगठनात्मक पकडको प्रतिस्पर्धा भनेर पनि व्याख्या गर्ने गरेका छन् ।
तर ललितपुर-२ मा यसपटकको चुनावी प्रतिस्पर्धा भने केही फरक देखिएको छ । स्थापित शक्ति र परम्परागत प्रभावबीच नयाँ राजनीतिक शक्तिको प्रवेशले समीकरण हल्लाएको छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेल यस क्षेत्रको सिन्डिकेट तोड्ने अभियानका साथ मैदानमा उत्रिएका छन् । उनी परम्परागत राजनीतिक दलभन्दा फरक हुँ भन्दै, पारदर्शिता र वैकल्पिक राजनीतिक संस्कारको एजेन्डा लिएर मतदाता फकाउन घर-आँगनमा पुगेका छन् ।
ललितपुर क्षेत्र नम्बर २ मा २०६४ को संविधानसभा निर्वाचनमा माओवादीले जित हात पारेको थियो । माओवादीका उम्मेदवार राजकाजी महर्जन यस क्षेत्रबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै क्षेत्रमा कांग्रेसले क्लिनस्विप गरेको थियो । त्यसयता ललितपुर–२ मा कांग्रेसले नतिजा दोहोर्याउन सकेको छैन । यहाँ एमालेले नै आफ्नो विरासत फर्काएको थियो । २०७९ को निर्वाचनमा एमालेका प्रेम बहादुर महर्जन १५ हजार २५ मतका साथ विजयी भएका थिए ।
यसपटक ललितपुर क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन छ । एमालेले आफ्नो विरासत दोहोर्याउने दाउमा लाग्दा कांग्रेस र रास्वपा त्यसलाई उल्ट्याउने प्रयत्नमा छन् ।
एमालेबाट प्रेमबहादुर महर्जन पुनः चुनावी मैदानमा छन् । लामो समय कम्युनिष्टको गढ रहेको ललितपुर–२ मा एमालेले आफ्नो विरासत जोगाउने र आफ्नो अधुरो बाचा पूरा गर्ने प्रतिवद्धताका साथ मैदानमा छन् ।
कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा ललितपुर–२ बाट उम्मेदवार बनेका थिए तर उनी पराजित भए । ललितपुर महानगरपालिकाका वडाभित्र नेपाली कांग्रेसको सुदृढ संगठन र महानगर प्रमुख चिरीबाबु महर्जनको सकारात्मक छाप भएकाले पनि आफ्नो जित हुने उनको दाबी छ ।
रास्वपाले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई उम्मेदवार बनाएको छ । खरेल सञ्चारकर्ममा चर्चित अनुहार हो । उनी जेनजी आन्दोलनपछि अन्तरिम सरकारका सञ्चार तथा सूचनामन्त्री समेत बनिसकेका छन् । चुनाव गराउने म्याण्डेटसहित मन्त्री भएका खरेल हठात् राजनीतिमा प्रवेश गरेपछि तीब्र आलोचना समेत भइरहेको छ । यद्यपि, देशभर रास्वपाको राम्रो माहोल रहेकाले आफूले चुनाव जित्ने उनको दाबी छ । उनलाई हाम्रो नेपाली पार्टी (हानेपा)का उम्मेदवार सुदीन शाक्यले पनि सहयोग गरिरहेका छन् । शाक्यले यसअघि ८ हजार ८ सय ८६ मत ल्याएका थिए । चुनाव गराउने म्याण्डेट पाएको सरकारका मन्त्री रहेका खरेल आफैँ चुनाव लड्न हिँडेको भन्दै धेरै मतदाताहरुले प्रश्न गरिरहेका छन् । मनोनयनको अघिल्लो दिनसम्म समेत उनी आफू निर्वाचनमा नजाने प्रतिक्रिया दिइरहेका खरेल एकाएक चुनावमा भाग लिन पुगेको भन्दै उनीमाथि चर्को आलोचना भइरहेको हो । खरेलमाथिको आलोचनाका कारण यसै भन्न सकिने अवस्था नरहेको रास्वपाको बुझाइ छ ।
नेपाली कम्युनिष्ट पार्टीले ललितपुर-२ मा राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ । अमात्य पनि नयाँ अनुहार हुन् । यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २ सय ६४ मत पाएका थिए । त्यतिबेला नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । यसपटक एक्लाएक्लै मैदानमा उत्रिए पनि माओवादीसहित मिलेर नेकपा बनेकाले नतिजा आफ्नो पक्षमा आउने उनको दाबी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रघुवरराज थापा उम्मेदवार बनेका छन् । थापा अघिल्लोपटक पनि त्यस क्षेत्रबाट उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनमा थापाले ६ हजार ६४२ मत प्राप्त गरेका थिए । उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार उम्मेदवार छन् । ललितपुर–२ मा २३ जना उम्मेदवार चुनावी मैदानमा छन्, यसमध्ये सातजना उम्मेदवार स्वतन्त्र बाट छन् ।
गत निर्वाचनको मत परिणाम
🗳️ ललितपुर क्षेत्र नं. २ प्रतिनिधि सभा २०७९ (प्रत्यक्ष)
⏺ कुल मतदाता: ८१,८९७ | सदर मत: ५१,३५५ (६२.७३% मतदान)
📊 उम्मेदवारगत मत (प्रत्यक्ष)
🥧 प्रतिशत वितरण
| उम्मेदवार / दल | प्राप्त मत | प्रतिशत | रङ |
|---|---|---|---|
| प्रेम बहादुर महर्जन (एमाले) | १५,०२५ | २९.२६% | |
| सुदिन शाक्य (हाम्रो नेपाली पार्टी) | ८,८८६ | १७.३१% | |
| बुद्ध रत्न महर्जन (रास्वपा) | ८,६६६ | १६.८७% | |
| कृष्णलाल महर्जन (एकीकृत समाजवादी) | ८,२६४ | १६.०९% | |
| रघुवरराज थापा (राप्रपा) | ६,६४६ | १२.९४% |
२०७९ मो निर्वाचनमा कुल ८१ हजार ८९७ मतदमता मध्य ५१ हजार ३५५ मत खसेको थियो । जसमध्ये प्रेम बहादुर महर्जनले १५ हजार २५ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी हानेपाका सुदिन शाक्यले ८ हजार ८८६ मत पाएका थिए । रास्वपाका बुद्ध रत्न महर्जनले ८ हजार ६६६ मत ल्याउँदा एकिकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मतसहित चौँथो स्थानमा रहेका थिए । त्यस्तै राप्रपाबाट रघुवर राज थापाले ६ हजार ६४६ मत प्राप्त गरी पाँचौ स्थानमा रहेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-२ को समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको थियो । रास्वपाले ११ हजार ८९५ मत ल्याएको थियो । दोस्रो भएको एमालेले ११ हजार ८५, नेपाली कांग्रेसले ९ हजार २५२, राप्रपाले ७ हजार ६९५ र हाम्रो नेपाली पार्टीले ४ हजार ४३ मत पाएका थिए । माओवादी केन्द्रले १ हजार ८७८, नेपाल मजदुर किसान पार्टीले १ हजार ८३६ र एकीकृत समाजवादीले १ हजार ५७८ मत पाएको थियो ।
वडागत विवरण
ललितपुर क्षेत्र नम्बर २ मा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ नम्बर वडाहरु पर्दछन् । यस क्षेत्रमा कुल ८९ हजार ०८२ मतदाता रहेका छन् । जसमा ४३ हजार २९८ महिला र ४५ हजार ७८४ पुरुष रहेका छन् ।
स्थानीय निर्वाचनमा महालक्ष्मी नगरपालिका प्रमुख एमालेका हरिगोविन्द श्रेष्ठले ९ हजार ३५० मत प्राप्त गरी विजयी भएका थिए भने नेकपा माओवादी केन्द्रबाट शिव प्रसाद कट्टेलले ५ हजार ६५८ मत प्राप्त गरी हार व्यहोर्नु परेको थियो ।
उपप्रमुखमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जनले ९ हजार ५९१ मतले निर्वाचित भएकी थिइन भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी विणा सुवेदीले ८ हजार ६८३ मत प्राप्त गरेकी थिन् ।
त्यसैगरी, ललितपुर महानगरपालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन ४२ हजार ७२२ मतका नगर प्रमुख विजयी भएका थिए भने उनलाई पछ्याएका नेकपा एमालेका हरि कृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत प्राप्त गरी पराजित भएका थिए ।
उपप्रमुखमा नेकपा एमालेबाट मन्जली शाक्य बज्राचार्यले २५ हजार ०८४ मतका साथ विजयी भएकी थिइन् भने नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्य १८ हजार ७५२ मतले हार्न परेको थियो ।
समग्र वडातर्फ महालक्ष्मी नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर १, २, ३, ४, ८, १० मा एमालेले जितेको छ । ५, ७, १० नेपाली कांग्रेस र वडा नम्बर ६ माओवादी केन्द्रले जितेको थियो । ललितपुर महानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, ११, १६ नेपाली कांग्रेसले जितेको छ । वडा नम्बर १२, १७ र १९ एमालेले जितेको छ । २०७४ सालमा महालक्ष्मी नगरपालिकाका मेयरसमेत रहेका रामेश्वर श्रेष्ठ ८ हजार २९८ मत ल्याएर प्रदेशसभा सदस्य जितेका थिए ।
फागुन २१ को चुनाव केवल सिट जित्ने प्रतिस्पर्धा मात्र होइन, पुरानोको विरासत र नयाँ आशाबीचको प्रतिस्पर्धा हुने देखिन्छ । के एमालेले आफ्नो पुरानो पकड जोगाउन सफल होला ? के कांग्रेस वा नेकपाले पुनरागमनको कथा लेख्लान् वा यसपटक रास्वपाले स्थापित संरचना तोड्दै नयाँ इतिहास रच्ला ? यस क्षेत्रको चुनावी भिडन्त रोचक बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया