काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
त्यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गरिएको जानकारी दिए ।
आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाही स्वरुप २५ हजार रुपैया जरिवाना तिराउने नर्णय गरेको हो ।
उनले भने, ‘आचारसंहिता उल्लङ्घनको उजुरी परेका छन् । उजरी परेर मात्र पनि हुँदैन आयोगलाई कारबाही गर्नको लागि प्रमाण पनि चाहिन्छ । मान्छेले कसैलाई दुःख दिनको लागि पनि बिना प्रमाण अरुको नाम पोलिदिन पनि सक्छ । अहिले हामीले दुई जना उम्मेदवारलाई र एक राजनीतिक दललाई २५ हजार जरिवाना तिराएका छौँ । दुई जना कर्मचारीलाई सचेत गराएका छौँ । र आचारसंहिता ख्याल नगरेर एउटा संस्थानले कर्मचारीलाई निकालिदिएको भन्ने उजुरी परेको थियो । उनीहरुलाई पुनर्वहाली गर्न आयोगले निर्देशन दिएको छ । अहिले देशभर सरदर ३ सय जना उम्मेदवारलाई स्पष्टीकरण सोधेका छौँ । केन्द्रीय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टिकरण सोधिएको छ । ६ जनाको स्पष्टिकरण चित्त नबुझेको कारण फेरी सोधिएको छ । ५७ जनाबाट जवाफ प्राप्त भएको छ ।’
आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए । तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुनः स्पष्टीकरण सोधिएको पनि जबराले जानकारी दिए ।
निर्वाचन आचारसंहिताविपरित एउटा संस्थानबाट निकालिएका दुईजना कर्मचारीलाई पुनःवहाली गर्न समेत आयोगले निर्देशन दिएको छ ।
आयोगले सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता उल्लङ्घनमा कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयुक्त जबराले केही दिन भित्र काउन्सिलले त्यस्ता उजुरी उपर कारवाही आयोग आफैं पनि सक्रिय हुनसक्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया