काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्ने संकल्प व्यक्त गरेका छन् ।
उनले चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै अबको चरण अधिकारको आन्दोलनभन्दा विकास र समृद्धिको अभियान हुने बताए ।
शर्माले विगतमा अधिकार र समानताका लागि संघर्ष गरिएको स्मरण गर्दै अहिलेको आवश्यकता विकास, सुविधा र सुशासन भएको उल्लेख गरे ।
२०६३–६४ सालदेखि संसदमार्फत रुकुमको नेतृत्व गर्दै आएको उल्लेख गर्दै उनले त्यसबेला गरेका प्रतिबद्धतामध्ये सडक सञ्जाल विस्तार, यातायात पहुँच, विद्युतीकरण र खानेपानी विस्तारमा उल्लेख्य प्रगति भएको दाबी गरे ।
उनले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट जिल्लावासी मुक्त भएको उल्लेख गर्दै आधारभूत पूर्वाधारमा सुधार आएको बताए ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै शर्माले रुकुममै ३०० शैय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने योजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार उक्त परियोजनाले रुकुमसँगै जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका नागरिकलाई समेत सेवा पुर्याउनेछ । यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको उनले बताए ।
युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेटलगायतका खेल मैदान निर्माण गरी खेलकुदलाई व्यवसायिक रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘एक घर एक धारा’ अभियानलाई पूर्णता दिने, गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने र सुशासनयुक्त समाज निर्माण गर्ने उनको जोड थियो ।
मतदातासँग मत माग्दै उनले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’ भएको बताउँदै रुकुमको नयाँ सपना साकार पार्न पुनः साथ दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया