एलआरआई विद्यालयको ३८औँ वार्षिक उत्सव सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । एलआरआई विद्यालयको ३८औँ वार्षिक उत्सव सम्पन्न भएको छ । सो आवसरमा विद्यालयले देशका विभिन्न स्थानमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका शिक्षाविद्हरूलाई सम्मान गरेको हो ।

विद्यालयले काभ्रेका उदिम पन्त, कैलालीका पदम सिंह कुवर र प्रेमनिधि ओझा, ललितपुरका भोलनाथ ओझा, काठमाडौंका अनुमोदन केसी तथा कास्की पोखराका किरण सापकोटालाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

उनीहरूको शिक्षा विकास, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण र विद्यार्थीको समग्र विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको विद्यालयले जनाएको छ ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका–९ मा रहेको ग्रीन तारा चाइल्ड हेभेन स्कुललाई अपाङ्ग विद्यार्थीहरूको पठनपाठनमा पुर्‍याएको योगदानका लागि यसोधरा पन्त शिक्षा सम्मान प्रदान गरिएको छ । 

कार्यक्रममा खेलकुद क्षेत्रबाट डाइमन्ड स्पोर्ट्स एकेडेमीका सञ्चालक कुमार राईलाई नगद २५ हजार रुपैयाँसहित लोकेन्द्र बहादुर चन्द पुरस्कार  प्रदान गरिएको छ । साथै, पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने वरिष्ठ पत्रकार ईश्वर ढकाल र शैक्षिक प्रकाशन तथा पठनसंस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याउने कलेज रिडर्सका संस्थापक जितेन्द्र घिमिरेलाई पनि सोही पुरस्कारबाट सम्मान गरिएको छ ।

विद्यालयले उत्कृष्ट कार्य गर्ने आफ्ना शिक्षक, कर्मचारी तथा शैक्षिक सत्रभर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई समेत नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति अच्युत प्रसाद वाग्ले रहेका थिए । उनले गुणस्तरीय, नैतिक र अनुसन्धानमुखी शिक्षाको आवश्यकता औँल्याउँदै एलआरआई विद्यालयको शैक्षिक तथा सामाजिक पहलको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?