कुनैपनि बहानामा निर्वाचनको मिति सार्ने काम गर्नु हन्न : एमाले

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेले निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको भन्दै कडा आपत्ति जनाएको छ ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचार विभाग संयोजक मीनबहादुर शाहीले निर्वाचनको मिति सार्ने हल्ला फैलाइएको भन्दै त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरे ।

उनले फागुन २१ गते तय भएको निर्वाचन कुनै पनि बहानामा सार्न नहुने कुरामा एमाले दृढ रहेको बताए । साथै, निर्वाचनमा मतदाताले निर्भीक र स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारलाई सचेत गराइएको पनि उनले स्पष्ट पारे ।

प्रचार संयोजक शाहीले भने, ‘फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा सर्नु हुँदैन । बजारमा निर्वाचन सारिने हल्ला फैलाइएको छ, त्यसले जनमानसमा शंका पैदा गरेको छ । त्यो शंकाको अन्त्य गर्ने जिम्मेवारी सरकारको हो । शान्ति सुरक्षाको प्रत्याभूति गर्दै मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकार तयार हुनुपर्छ ।

एमालेले निर्वाचन सार्ने हल्ला कुन षड्यन्त्रका साथ फैलाइएको हो भन्ने प्रश्नसमेत उठाएको छ ।

यसैबीच, एमालेले आसन्न निर्वाचनमा पार्टीले बहुमत हासिल गरी सरकार बनाउने दाबी दोहोर्‍याएको छ । प्रचार विभाग संयोजक शाहीले निर्वाचनपछि एमालेको बहुमतको सरकार बन्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?