यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया

लोकपथ
42
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावीस्थित नेपाली दूतावास ले युएईमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका शारीरिक तथा मानसिक स्वास्थ्य समस्यामा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दूतावासका अनुसार कार्यक्रममा नेपाली श्रमिकले सामना गरिरहेका स्वास्थ्य समस्या, तिनको समाधान तथा रोकथामका उपायबारे युएईमा कार्यरत नेपाली चिकित्सकहरूसँग छलफल गरिएको हो । अन्तरक्रियामा २५ जना नेपाली चिकित्सकको सहभागिता रहेको थियो ।

चिकित्सकहरूले युएईमा कार्यरत नेपाली श्रमिकमा शारीरिकसँगै मानसिक समस्या पनि देखिने गरेको र मानसिक समस्या अझ बढी रहेको बताएका छन् । 

उनीहरूका अनुसार श्रमिकमा उच्च रक्तचाप, हृदयघात, मिर्गौलासम्बन्धी समस्या तथा मानसिक तनावका कारण महिलासँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । ती समस्यालाई न्यूनीकरण गर्न सकिने उपायबारे चिकित्सकहरूले परामर्शसमेत दिएका थिए ।

स्वास्थ्यसम्बन्धी चेतनाको कमी, स्वास्थ्यलाई हल्का रूपमा लिने प्रवृत्ति, रोग लुकाउने बानी, खाडी मुलुकको वातावरणीय असरबारे पर्याप्त जानकारी नहुनु, स्वास्थ्य बिमाबारे अनभिज्ञता र भाषागत समस्याका कारण धेरै नेपाली श्रमिक समयमै स्वास्थ्य परीक्षणका लागि अस्पताल नजाने गरेको चिकित्सकहरूको निष्कर्ष छ ।

कार्यक्रममा चिकित्सकहरूले कम्तीमा छ महिनामा एकपटक नियमित स्वास्थ्य परीक्षण गराउन, पर्याप्त पानी पिउन, मदिरा सेवन त्याग्न र स्वास्थ्य बिमाबारे जानकारी लिन श्रमिकलाई सुझाव दिएका छन् । साथै युएईमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई अझ तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउँदै मानसिक रोगको उपचारका लागि नेपाल सरकारसँग समन्वय गरी टेलिमेडिसिन सेवा उपलब्ध गराउन सकिने सुझावसमेत दिएका छन् ।

उनीहरूले युएई आउनुअघि नै नेपालमा स्तरीय अस्पतालबाट स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्ने, अभिमुखीकरण तालिममा स्वास्थ्य, बिमा, युएईको हावापानी, सडक सुरक्षा र दुर्घटनासम्बन्धी विस्तृत जानकारी र प्रशिक्षण दिनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री ले युएईमा कार्यरत नेपाली चिकित्सकहरूले चिकित्सा क्षेत्र तथा नेपाली समुदायका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्राप्त सुझाव कार्यान्वयन गर्न दूतावास तत्पर रहेको बताए । आगामी दिनमा दूतावाससँगको समन्वयमा युएईका सबै इमिरेट्समा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न चिकित्सकहरूको सक्रिय सहयोगको पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?