घोषणा पत्र होइन, प्रतिज्ञा पत्र लिएर जनता अगाडि आउँछौँ : सभापति थापा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

सिरहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति ५ वर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिए । उनले प्रस्तावित नयाँ सरकारी मोडेल अनुसार, चुनाव चैतमा सम्पन्न भएपछिका सरकारले वैशाख १ गतेदेखि जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय सुरु गर्ने बताए ।

सभापति थापाले भने, ‘कांग्रेसको सरकार बन्दै गर्दा हामी ५ वर्षको अमूर्त कुरा नगर्नेछौँ । हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर गएको महिनामा के काम भयो र के हुन सकेन, त्यसको स्पष्ट हिसाब दिनेछ ।’

काठमाडौंको सुरक्षित निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिनुको कारण स्पष्ट पार्दै उनले मधेस नबुझी देशको सफल नेतृत्व सम्भव नभएको बताए । थापाले मधेसका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’ सँग जोड्न आफू सर्लाही गएको पनि बताएका छन् ।

उक्त सभामा उनले आफ्नो प्रतिज्ञा पत्रका बारेमा स्पष्ट पारे, ‘हामी घोषणा पत्र तयार गरिरहेका छौँ, तर यो काँग्रेसको सामान्य घोषणा पत्र हुँदैन, यो हाम्रो प्रतिज्ञा पत्र हुनेछ । वैशाख १ देखि देशवासीको सामु हरेक महिनाको कामको विवरण प्रस्तुत गरिनेछ । यसले पुरानो ५–५ वर्षमा एकपटक भोट माग्ने र बेपत्ता हुने प्रवृत्तिलाई अन्त्य गर्नेछ ।’

थापाले नयाँ कार्यशैलीका साथ देशलाई सम्हाल्ने, झगडा वा घृणा बिना सबैलाई मिलाएर अघि बढ्ने आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै पार्टी उम्मेदवार रामचन्द्र चौधरीलाई निर्वाचित गराउन जनता समक्ष आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?