काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको दिगो विकास र समृद्धिका लागि विध्वंसात्मक बाटो छोडेर संवाद, सुधार र विश्वासको मार्ग अपनाउन आवश्यक रहेको बताएका छन् ।
क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपालको भविष्य अराजकता र विध्वंसमा नभई विश्वास र सुधारमा मात्रै सुरक्षित रहेको बताए ।
उनले निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्र बलियो हुन नसक्ने चेतावनी दिँदै भदौ २३ र २४ गतेका घटनाले राष्ट्रिय जीवनमा गम्भीर प्रश्न खडा गरेको उल्लेख गरे ।
अध्यक्ष दाहालका अनुसार भ्रष्टाचार र कुशासनविरुद्ध उठ्ने नागरिक आवाज जायज भए पनि त्यसको आवरणमा हुने भौतिक विनाशले मुलुकलाई असफल राष्ट्रतर्फ धकेल्न सक्छ ।
उनले भने, ‘नेपालको भविष्य विध्वंस र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ। यसको लागि राज्य संयन्त्र, राजनीतिक शक्ति, निजी क्षेत्र र आम जनसमुदायको साझा पहल अपरिहार्य छ। ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उद्यमशीलताका क्षेत्रमा नेपालीसँग अपार सम्भावना छ, तर ती सम्भावनालाई व्यावसायिक वातावरण र लगानीको विश्वासयोग्य अवस्था निर्माण नगरी उपयोग गर्न सकिँदैन ।’
अध्यक्ष दाहालले अध्ययन प्रतिवेदन उद्धृत गर्दै भदौको प्रदर्शनका क्रममा निजी क्षेत्रमा प्रत्यक्ष रूपमा ३४ अर्ब र अप्रत्यक्ष रूपमा ८१ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिए । ९८ प्रतिशत व्यवसायीको मनोबल खस्किएको र ९७ प्रतिशतले लगानी वातावरण कमजोर भएको महसुस गरेको तथ्याङ्कले अर्थतन्त्रमा खतराको संकेत गरेको उनको भनाइ छ ।
भदौ २४ गतेको प्रदर्शनमा भएको आगजनी र लुटपाटलाई अध्यक्ष दाहालले ‘आततायी विध्वंस’ भनेका छन् । उनले सोधेका छन्, ‘के यो अराजकता नेपाललाई असफल बनाउने गलत नियतबाट प्रेरित त थिएन ?’
अध्यक्ष दाहालले निजी क्षेत्रलाई हेर्ने सामाजिक र सांस्कृतिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै नाफा कमाउनु अपराध नभई व्यवसाय विस्तार र रोजगारी सिर्जनाको आधार भएको बताए ।
साथै, राष्ट्रिय सभाले लगानीको सुरक्षा सुनिश्चित गर्न, भ्रष्टाचारमुक्त सुशासन कायम गर्न र व्यवसायमैत्री कानुन निर्माण गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया