गोरखा । देश अहिले चुनावी माहौलले तातेको छ । सबै राजनीतिक दलले उम्मेदवारी दर्ता गराइसकेका छन् र निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । आ-आफ्नो दललाई विजयी बनाउने प्रतिस्पर्धाबीच केही निर्वाचन क्षेत्रहरू विशेषरूपमा चर्चामा छन् । ती क्षेत्रहरूमा उम्मेदवारको प्रोफाइल, विगतको निर्वाचन परिणाम र वर्तमान राजनीतिक अवस्थाले मतदाताको ध्यान तानेको छ ।
यिनै चर्चित निर्वाचन क्षेत्रहरूमध्ये एक हो, गोरखा क्षेत्र नम्बर १ । कुनै समय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठजस्ता राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताहरू निर्वाचित भएको यो क्षेत्र अहिले पनि राजनीतिक रूपमा निकै संवेदनशील मानिन्छ । यसपटक यहाँ अनुभवी नेता, नयाँ अनुहार र युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिँदैछ ।
यस क्षेत्रमा अहिले विभिन्न राजनीतिक दलका १२ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रको सहयोगमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका थिए । उनले ३३ हजार ४ सय २८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नेता रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत पाएका थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८ सय ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उदयप्रसाद भट्टले ८ सय ५२ मत प्राप्त गरेका थिए ।
२०७९ सालको निर्वाचनका लागि कुल मतदाता संख्या १ लाख १५ हजार ३ सय ९७ रहेकोमा ५७ हजार २ सय ३१ मत खसेको थियो ।
कस्तो छ गोरखा क्षेत्र नम्बर १ को अवस्था ?
गोरखा क्षेत्र नम्बर १ अन्तर्गत चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका र गोरखा नगरपालिकाका वडा नम्बर १ देखि ७ सम्म पर्दछन् । यी सबै क्षेत्रमा गरी कुल १ लाख २० हजार ५ सय २५ मतदाता रहेका छन् । तीमध्ये ६० हजार ४ सय २३ पुरुष, ६० हजार १ सय १ महिला र १ जना अन्य मतदाता रहेका छन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा १ लाख १५ हजार ३ सय ९७ मतदाता रहेकोमा ५७ हजार २ सय ३१ मत खसेको थियो । प्रतिशतमा हेर्दा करिब ४९ दशमलव ५९ प्रतिशत मत खसेको देखिन्छ ।
समानुपातिक मतको अवस्था
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कुल ५६ हजार ३ सय ५६ मत खसेको थियो । यसमध्ये नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले १८ हजार ४ सय ७१ मत प्राप्त गरेको थियो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ हजार २ सय ७१ मत पाएको थियो भने तेस्रो स्थानमा रहेको नेकपा एमालेले ११ हजार ८ सय ९३ मत प्राप्त गरेको थियो ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार २ सय ४६ मत प्राप्त गर्दा पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३ सय ४४ मत मात्र पाएको थियो । अन्य दलहरूको समानुपातिक मत १ हजारभन्दा कम नै रहेको थियो ।
यसपटक को-को छन् चुनावी मैदानमा ?
यसपटक गोरखा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हरिराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुदन गुरुङ, नेकपा एमालेबाट रामचन्द्र लामिछाने, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केदारमणि खनाल चुनावी मैदानमा छन् ।
हरिराज अधिकारी त्यहाँका पुराना नेता हुन् । उनी २०७४ सालको निर्वाचनमा विजयी भइसकेका व्यक्ति हुन् । संघीय संसद सदस्यको रूपमा सेवा गरिसकेका उनले पार्टीको केन्द्रीय सदस्यको रूपमा पनि भूमिका निर्वाह गरिसकेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका प्रेमकुमार खत्री पर्यटन व्यवसायसँग सम्बन्धित छन् र स्थानीय समाजसेवामा सक्रिय रहेका छन् । विगत १०-१५ वर्षदेखि स्वास्थ्य, शिक्षा र स्वरोजगारसँग सम्बन्धित काममा संलग्न रहेका उनी स्थानीय समुदायमा परिचित छन् । उनी पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
नेकपा एमालेबाट आरसी लामिछाने भन्ने रामचन्द्र लामिछाने उम्मेदवार रहेका छन् । उनी युवा नेताको रूपमा पहिलोपटक संसद्को चुनाव लड्दैछन् । ग्रामीण विकास र स्थानीय समस्यामा विशेष ध्यान दिने उनी नयाँ नेतृत्व र विचारको प्रतीकका रूपमा प्रस्तुत भइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३८ वर्षका सुदन गुरुङ उम्मेदवार छन् । गुरुङ सामाजिक अभियन्तासमेत हुन् । जेन–जी आन्दोलनका क्रममा ‘हामी नेपाल’ संस्थाका तर्फबाट आन्दोलनलाई सहयोग गरी आफूसमेत सहभागी भएका उनी पहिलोपटक राष्ट्रिय राजनीतिमा आएका हुन् ।
कति मत ल्याए विजयी हुन सक्लान् ?
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतलाई आधार मानेर मात्र विश्लेषण गर्दा यसपटक नतिजा फरक आउन सक्ने देखिन्छ । किनभने त्यसबेला नेपाली कांग्रेसका उम्मेदवारलाई नेपाली कम्युनिस्ट पार्टीको समेत सहयोग रहेको थियो ।
तर उक्त निर्वाचनमा समानुपातिकतर्फ खसेको मतको विश्लेषण गर्दा यसपटकको वास्तविक नतिजामा केही नजिक पुग्न सकिने सम्भावना छ । तर पनि अवस्था फेरिएको कारण यही नै हुन्छ भनिहाल्न सक्ने अवस्था छैन । किनभने उम्मेदवारको व्यक्तित्व, परिवेश आदिले समेत निर्वाचनलाई प्रभाव पार्ने भएकाले नतिजा केही फरक हुन सक्छ । यसपटक गोरखा क्षेत्र नं. १ मा कुल १ लाख २० हजार ५ सय २५ मतदाता रहेका छन्, जुन अघिल्लो निर्वाचनको तुलनामा ५ हजार १ सय २८ ले बढी हो ।
यदि अघिल्लो निर्वाचनमा खसेको करिब ५० प्रतिशत मतमा १ प्रतिशत थप भएर यसपटक ५१ प्रतिशत मत खस्यो भने करिब ६१ हजार ४ सय ६८ मत खस्ने अनुमान गर्न सकिन्छ ।
यसपटक कुनै पनि राजनीतिक दलहरूबीच गठबन्धन नभएकाले दलहरूले पाउने वास्तविक मतको चित्र स्पष्ट रूपमा देखिन सक्नेछ ।
गत निर्वाचनमा समानुपातिकतर्फ कुल ५६ हजार ३ सय ५९ मत खस्दा सबैभन्दा धेरै माओवादी केन्द्रले कुल १८ हजार ४ सय ७१ मत पाएको थियो । माओवादीले पाएको मत कुल खसेको मतको करिब ३३ प्रतिशत मत हो ।
त्यस्तै, गोरखा १ मा नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ हजार २ सय ७१ मत प्राप्त गरेको थियो जुन खसेको सदर मतको २७ प्रतिशत हो ।
उक्त क्षेत्रमा त्यतिबेला तेस्रो दल बनेको एमालेले ११ हजार ८ सय ९३ मत प्राप्त गरेको थियो, जुन खसेको सदर मतको २१ प्रतिशत हो ।
गोरखा १ मा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने त्यतिबेला ७ हजार २ सय ४६ मत प्राप्त गरेको थियो, जुन सदर मतको १३ प्रतिशत हो । उक्त क्षेत्रमा पाँचौँ दल बनेको राप्रपाले १ हजार ३ सय ४४ मत अर्थात् खसेको सदर मतको २ दशमलव ३८ प्रतिशत मत प्राप्त गरेको थियो ।
गत निर्वाचनमा खसेको समानुपातिक मतको गणना गर्दा तत्कालीन माओवादी केन्द्र अर्थात् हालको नेपाली कम्युनिस्ट पार्टी ३३ प्रतिशत पपुलर मतका साथ पहिलो स्थानमा रहेको छ । तर अहिले उक्त क्षेत्रमा माओवादीकै केही कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् भने रास्वपाको लहर पनि बढेको कारण माओवादीलाई पहिले जस्तो सहजता छैन ।
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जितेको नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले यसपटक टिकट नै पाएनन् । उनको स्थानमा कांग्रेसले प्रेमकुमार खत्रीलाई उम्मेदवार बनाएको छ । पर्यटन व्यवसाय र समाजसेवामा सक्रिय खत्री पनि त्यस क्षेत्रका चर्चित पात्र हुन् ।
यता रास्वपाबाट उम्मेदवार बनेका सुदन गुरुङ उक्त क्षेत्रका अर्का दाबेदार उम्मेदवार हुन् । जेन–जी आन्दोलनपछि सरकार बन्ने क्रममा उनको भूमिका र सरकारमा हस्तक्षेपलगायतका कारणबाट उनी चर्चित पात्र हुन् । त्यसबाहेक अधिकांश गुरुङ र जनजातिको बाहुल्य रहेको गोरखा १ मा जनजातिको भोट, परिवर्तनको संवाहक आदिका रूपमा सुदनले आफ्नो मत तान्ने आकलन गरिएको छ । यद्यपि उनका केही अस्वाभाविक अभिव्यक्ति र ‘कच्चापन’का कारण गोरखाली जनताले उनलाई सजिलै विजयी गराउने अवस्था भने छैन ।
यता गोरखा १ मा एमाले, राप्रपा र उज्यालो नेपाल पार्टी भने तुलनात्मक रूपमा निकै कमजोर पार्टी रहेको देखिन्छ ।
अहिले ५१ प्रतिशत अर्थात् कुल ६१ हजार ५ सयको हाराहारीमा मत खस्ने हो र कुनै पनि राजनीतिक दलले गठबन्धन नगर्ने हो भने उक्त निर्वाचन क्षेत्रमा विजयी हुन करिब ३० देखि ३२ प्रतिशत मत ल्याउनुपर्ने अवस्था देखिन्छ ।
यस्तो अवस्थामा तत्कालीन माओवादी केन्द्र र हालको नेपाली कम्युनिस्ट पार्टीलाई तुलनात्मक रूपमा सहज देखिएपनि नयाँ दल रास्वपामा धेरै मत परिवर्तन हुने अनुमान गरिएको छ । तत्कालीन माओवादी, कांग्रेस र एमालेकै मत परिवर्तन हुँदा माओवादीको घट्ने र रास्वपाको मत बढ्ने हुँदा स्थिति अनुमान गरिहाल्न सक्ने अवस्थामा छैन ।
यता गोरखा १ मा नेपाली कांग्रेस पनि उत्तिकै बलियो राजनीतिक दल हो । सभापति गगनकुमार थापाको पक्षमा खुलेरै लागेका प्रेमकुमार खत्री चुनावी मैदानमा उत्रँदा उनीसँग सामाजिक कामको अनुभव, स्थानीयस्तरमा भिजेका नेता र कांग्रेसकै नयाँ माहौलले साथ दिने अवस्था छ । यस्तो अवस्थामा उनी पनि त्यस क्षेत्रमा बलियो उम्मेदवारका रूपमा रहेका छन् ।
यसरी हेर्दा कुनै समय माओवादीको आधार इलाका रहेको र माओवादी प्रभावित भनिएको गोरखा क्षेत्र नम्बर १ मा यसपटक त्रिपक्षीय भिडन्तको सम्भावना छ । तीनै जना उम्मेदवार उत्तिकै बलिया रहेको कारण मतदानको अन्तिम समयसम्म जसले जनतालाई आफ्ना कुरा बुझाउन सक्छ, उनै उम्मेदवार विजयी हुने सम्भावना देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया