काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ९ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ ।
छपाइ सम्पन्न भएका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत तथा बर्दघाट सुस्ता पश्चिम नवलपरासी रहेका छन् ।
उक्त जिल्लाका मतपत्रको प्याकिङ कार्यसमेत सम्पन्न भइसकेको उनले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु गरिएको थियो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।
त्यस्तै, पुस २६ गतेदेखि सुरु गरिएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ माघ १३ गतेसम्म दुई करोड ८ लाख ३० हजार पूरा भएको आयोगले जनाएको छ । ती मतपत्रको प्याकिङ र रुजु कार्य सम्पन्न गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया