‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता हो : अध्यक्ष ओली

लोकपथ
49
Shares

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित रहेको बताएका छन् ।

धार्मिक अनुष्ठानमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल ५ हजार वर्ष पुरानो गौरवशाली इतिहास भएको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वकै अग्रणी रहेको दाबी गरे । उनले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई आधुनिक युगमा समृद्धिको आधार बनाइएको उल्लेख गरे ।

ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बिचको भिन्नता प्रस्ट्याउँदै सनातन परम्परालाई नेपालको मूल सभ्यता र पहिचानको रूपमा व्याख्या गरे । उनले भने, ‘हिन्दु राष्ट्र भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको हो, तर सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पत्ति हो ।’

कार्यक्रममा अध्यक्ष ओलीले चिकित्सा विज्ञान (सर्जरी) को सुरुवात नेपालकै भूमिबाट भएको र ऋषि विश्वामित्र र सुश्रुतले ठुलो योगदान पुर्‍याएको स्मरण गराए । उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनःस्थापित गर्ने आफ्नो संकल्प व्यक्त गरे ।

ओलीले मन्त्र ‘सर्वे भवन्तु सुखिनः,‘को मर्मलाई उद्धृत गर्दै भने, ‘सबै सुखी हुन्, कोही दुःख नपाओस्, डर र त्रासको वातावरण नहोस्, सर्वत्र शान्ति होस् । यही भावले हामीले समृद्ध नेपाल र सुखी नेपाली बनाउनु पर्छ। यो हाम्रो वेदहरूले दिएको शिक्षा हो ।’

कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका ओलीले निर्वाचन आचारसंहिताप्रति सचेत रहेको र आफू चुनाव प्रचारका लागि नभई देश निर्माण गर्ने संकल्प दोहोर्‍याउन आएको स्पष्ट पारे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?