हिंसा र अराजकता रोक्ने ग्यारेन्टी कांग्रेससँग मात्रै छ : सभापति थापा

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । 

उनले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र  सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गर्ने जिकिर गरे । 

सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय सुरु गर्ने  बताए । 

सभापति थापाले भने, ‘हामीले मतदातालाई भन्नु पर्छ । एक पटक आँखा चिम्लिएर सोचौँ–फागुन २१ पछि २२ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्नसक्छ भने त्यो कांग्रेसले मात्रै हो । यो हामीले जिम्मा लिने हो । हामी गर्छौ त्यो । देश सम्हाल्ने काम हाम्रो हो । देश भित्र जुन अविश्वास छ, त्यसलाई बदल्ने काम, एक अर्काप्रतिको जुन अविश्वास छ, त्यसलाई भरोसामा बदल्ने काम हाम्रो हो । नेपाली कांग्रेसले यो बेलामा सबैसँग संवाद गर्छ । हामी तन्नेरीसँग संवाद गर्छौँ । बुढापाकासँग संवाद गर्छौँ । मधेस, पहाड सबैसँग संवाद गर्छौँ । देशबाहिर रहेका लाखौँ नागरिकसँग पनि संवाद गर्छौँ । र सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय सुरु गर्न चाहन्छौँ ।’ 

सभापति थापाले देशलाई बदल्नका लागि आम नागरिकलाई भरोसा जगाउने काममा आफ्नो पार्टी लाग्ने पनि  बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?