आम जनताले खोजेजस्तो परिवर्तन कांग्रेसमा आइसकेको छ : प्रदीप पौडेल

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो परिवर्तन आफ्नो पार्टीमा आइसकेको दाबी  गरेका छन् । 

शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले कांग्रेसको नीति र नेतृत्व दुवैमा रुपान्तरण भएको उल्लेख गर्दै अब रुपान्तरित कांग्रेसले देशलाई परिवर्तन गर्ने संकल्प लिएको बताए  ।

क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पौडेलले देशको समग्र रुपान्तरणका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आम मतदातासँग अपिल गरे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई पनि कांग्रेसको पक्षमा जनमत सुदृढ बनाउन केन्द्रित भएर लाग्न आग्रह गरे ।

महामन्त्री पौडेलले आम जनताले मत दिएर नेपाली कांग्रेसलाई देश रुपान्तरणका लागि बल प्रदान गर्नुपर्ने धारणा राखे । उनले भने, ‘तपाईँहरूले खोजेजस्तो कांग्रेस बनेको छ । कांग्रेसमा जुन प्रकारको रुपान्तरण तपाईँहरूले चाहनुभएको थियो, त्यो भइसकेको छ । अब रुपान्तरित कांग्रेसले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसका लागि मत दिएर बल र तागत प्रदान गर्नुस् ।’

राजनीतिमा आवेग मात्र होइन, परिपक्वता आवश्यक रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले परिपक्व निर्णय बिना देश सही दिशामा अघि बढ्न नसक्ने बताए  । उनले हाल कांग्रेसको नेतृत्व गरिरहेको पुस्ता तुलनात्मक रूपमा युवा भए पनि लोकतन्त्र स्थापना र संस्थागत गर्ने आन्दोलनमा बाल्यकालदेखि नै सक्रिय रहँदै आएको दाबी गरे ।

महामन्त्री पौडेलले नेपाली कांग्रेसमा परिपक्व तर युवा पुस्ताको नेतृत्व आएकाले अब देशमा वास्तविक परिवर्तन सम्भव हुने जिकिर गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?