काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी मिथ्या तथा भ्रामक सूचना नियन्त्रणका लागि सक्रिय भूमिका खेलिरहेको जनाएको छ ।
आयोगकी सदस्य जानकीकुमारी तुलाधरले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, हेट स्पिच तथा भ्रामक सामग्री नियमन र नियन्त्रण गर्न आयोग निरन्तर सचेत रहेको बताइन् ।
उनका अनुसार आयोगले यस प्रयोजनका लागि मेटा, टिकटक लगायतका सामाजिक सञ्जाल कम्पनीहरूसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिरहेको छ । ‘मिथ्या सूचना, भ्रामक सूचना र हेट स्पिचलाई कसरी नियमन र नियन्त्रण गर्ने भन्ने विषयमा आयोग सदैव सचेत छ,‘उनले भनिन्, ‘अहिले मात्रै हामीले मेटा, टिकटक लगायतसँग एमओयू गरिरहेका छौँ ।’
तुलाधरका अनुसार फेसबुक, ह्वाट्स्याप र टिकटकजस्ता प्लेटफर्ममा देखिने गलत सूचनाहरू हटाउन सम्बन्धित कम्पनीहरूले सहयोग गर्दै आएका छन् । साथै, मिथ्या सूचना नियन्त्रणका लागि नेपाल प्रहरीको साइबर ब्यूरोसँग पनि सहकार्य भइरहेको उनले जानकारी दिइन् ।
‘उपकरणसहितको साइबर ब्युरोलाई पनि हामीले आयोगमै राखेका छौँ,‘उनले दोहोर्याइन्, ‘मिथ्या सूचना नियमन र नियन्त्रण गर्न आयोग सक्रिय छ ।’
आयोगले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जालको दुरुपयोग रोक्ने उद्देश्यले यस्ता पहललाई थप प्रभावकारी बनाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया