काठमाडौं । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर–३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा पार्टीको रुख चिन्हलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीको सिद्धान्त र विकासको एजेण्डा नै आफ्नो मुख्य शक्ति भएको बताए । उनले स्थानीय तह र केन्द्र सरकारबिचको समन्वयमा जोड दिँदै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसँगको निकट सहकार्यले मात्र क्षेत्रको विकासमा गति आउन सक्ने विश्वास व्यक्त गरे ।
श्रेष्ठले स्थानीय जनप्रतिनिधिहरूको सफल अनुभव र आफ्नो राजनीतिक सक्रियतालाई जोडेर ललितपुरलाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले विकासका आयोजनाहरू सफलतापूर्वक सम्पन्न गर्न ‘टिम वर्क’को आवश्यकता औँल्याए ।
पार्टीको चुनाव चिन्ह रुखको महत्वका बारेमा चर्चा गर्दै श्रेष्ठले भने, ‘रुख केवल चिन्ह मात्र होइन, यो उम्मेदवारको व्यक्तित्व र पार्टीको गौरवशाली इतिहासको प्रतीक हो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको झण्डा र चिन्हलाई केन्द्रमा राखेर चुनावी अभियानमा होमिनु तपाईँहरूको कर्तव्य हो ।’
श्रेष्ठले नयाँ पुस्तामा समेत रुख चिन्हको गहिरो छाप रहेको उल्लेख गर्दै आफ्ना नातीले समेत चिन्ह सजिलै चिनेको प्रसङ्ग साझा गरे। आगामी दिनमा घर–दैलो अभियानलाई सशक्त बनाउन र प्रत्येक मतदाताको मन जित्न कार्यकर्ताहरूलाई विशेष आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया