चुनाव जित्न पार्टी एकता अनिवार्य छ : प्रेमकृष्ण महर्जन

लोकपथ
322
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकता नै मुख्य बल भएको बताएका छन् ।

ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महर्जनले अन्य कुराहरूलाई पछि राखेर सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गरे । उनले पार्टीभित्र बलियो एकता कायम गर्न सकिए विगतको जस्तै शानदार सफलता हासिल गर्न सकिने दाबी गरे ।

महर्जनले भने, ‘पार्टीका नेताहरू र महामन्त्री गगनकुमार थापाबिच भइरहेको संवादले देशभर सकारात्मक सन्देश प्रवाह गरेको छ र यसले कार्यकर्तामा उत्साह थपेको छ ।’ उनले कार्यकर्ताहरूलाई घर–घर पुगेर मतदातासँग भेटघाट गर्ने र सक्रिय अभियान चलाउन निर्देशन दिएका छन् ।

आफ्नो उम्मेदवारी र विकास योजनाबारे चर्चा गर्दै उनले ललितपुर महानगरपालिकाका मेयर र प्रदेश सांसदहरूले गरेका काम आफ्नो लागि जितको मुख्य आधार भएको बताए । महर्जनले पार्टीको ऐतिहासिक सफलताका उदाहरण दिँदै भने, ‘२०४८ र २०५६ सालमा पनि कांग्रेसको एकताले हामीलाई सफलता दिलाएको थियो । अहिले फेरि ललितपुरमा २०७० सालकै जस्तो लहर आएको छ ।’

महर्जनले आफूलाई पार्टीको इमानदार ‘सिपाही’को रूपमा चित्रण गर्दै वरिष्ठ नेताहरूको सद्भाव र कार्यकर्ताको भरोसामा अघि बढेको बताए । उनले भोलि जिम्मेवारी पाउँदा मतदाता र कार्यकर्ताको विश्वास अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?