काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मोफसलमा फुटबलप्रति गहिरो क्रेज रहेको उल्लेख गर्दै नेपाली फुटबलको संरचना विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले काठमाडौंमा लिग खेल भइरहँदा पनि २–३ सय दर्शक मात्र देखिनु दुःखद भएको बताए ।
यसका कारण धेरैलाई नेपालमा फुटबल सकियो भन्ने भ्रम परेको उनको भनाइ छ । तर मोफसलमा भने फुटबलप्रति व्यापक उत्साह देखिने उनले उल्लेख गरेका छन् ।
उनका अनुसार मोफसलमा आयोजना हुने गोल्डकप प्रतियोगितामा दैनिक हजारौँ दर्शक फुटबल हेर्न आउने गर्छन् भने फाइनल खेलमा टिकट नै नपाइने अवस्था देखिन्छ । शाहले काठमाडौंमा हुने लिगमा खेल्ने अधिकांश खेलाडी मोफसलबाट उत्पादन भए पनि देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित रहेको बताए ।
पछिल्ला वर्षमा एकाध क्लब डिभिजन फुटबलमा प्रवेश गरे पनि केन्द्रीकृत फुटबल संरचनाका कारण काठमाडौं बाहिरका क्लबलाई टिक्न कठिन भइरहेको उनको टिप्पणी छ । त्यसैले फुटबलसम्बन्धी नीति परिवर्तन गरी विकेन्द्रीकरण र व्यवसायीकरणतर्फ लैजानुपर्नेमा उनले जोड दिए ।
‘फुटबल काठमाडौंका केही क्लबबिच मात्र सीमित हुनुहुँदैन। खेल्नका लागि क्लब र खेलाडी काठमाडौंमै आउनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ,‘शाहले लेखेका छन्।
उनले काठमाडौंका क्लब र खेलाडीलाई मोफसलका टिमहरूले निम्तो दिने वातावरण बन्नुपर्ने उल्लेख गर्दै पूर्वमा झापा ११ मैदानमा उत्रँदा धनगढीका दर्शकले मैदान भरिएको दृश्य देखिनुपर्ने र पश्चिमको धनगढी रंगशालामा मच्छिन्द्र तथा थ्रीस्टारजस्ता क्लबका झन्डा फहराएको देख्न चाहेको बताएका छन् ।
फुटबलको अवसर अभावकै कारण कुनै पनि खेलाडी विदेशिन नपरोस् भन्ने अपेक्षासमेत शाहले व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया