आचारसंहिता उल्लंघनमा आयोगकाे कडाइ : २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेस

लोकपथ
63
Shares

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार नियमित पत्रकार भेटघाटका क्रममा आचारसंहिता पालना गराउन उल्लंघनकर्ताहरूलाई आवश्यक कारबाहीको दायरामा ल्याउन आयोग सक्रिय रहेको बताए ।

भट्टराईका अनुसार, पछिल्लो समय जिल्ला तहबाटै उजुरी दर्ता गर्ने र समाधान गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको छ । हालसम्म आयोगले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटा जवाफ प्राप्त भइसकेको जानकारी प्रवक्ता भट्टराईले दिएका छन् । प्राप्त जवाफको अध्ययनपछि केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐनअनुसार आवश्यक कारबाही गर्ने निर्णय लिनेछ ।

उनका अनुसार, हाल ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसमा महिला उम्मेदवार १ हजार ७७२ र पुरुष उम्मेदवार १ हजार ३६३ रहेका छन् । आयोगका तथ्याङ्कले समानुपातिकतर्फ महिलाको संख्या पुरुषभन्दा बढी रहेको देखाएको छ ।

भट्टराईले भने, ‘जिल्लामा उजुरी गर्ने र त्यहीँबाटै समाधान गर्ने दर बढेको छ । त्यसले गर्दा केन्द्रमा उजुरीको क्रम घटेको महसुस गरेका छौँ । हामी सुधारका काम गर्न सधैँ तयार छौँ । आचारसंहिता उल्लंघनमा आयोगले नजरअन्दाज गरेको छैन ।’

निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउन तथा आचारसंहिता पूर्ण पालना गराउन सबै पक्षलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?