असन्तुष्ट जनतालाई सुधारबाटै जवाफ दिनुपर्छ : सभापति थापा

लोकपथ
63
Shares

गण्डकी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकमा बढ्दो असन्तुष्टि र आक्रोशको जवाफ सुधारमार्फ नै दिनुपर्ने बताएका छन् । 

कांग्रेस कास्कीले आज आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई जिम्मेवारीअनुसार काम गर्दै नागरिकका गुनासो र समस्या सुन्न निर्देशन दिए ।

‘नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यसलाई सुधारबाटै जवाफ दिन आवश्यक छ, ‘सभापति थापाले भने । उनले नागरिकमा बढ्दै गएको अविश्वास र निराशालाई आत्मसात गर्दै देशलाई सम्हाल्न कांग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सभापति थापाले राष्ट्रमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार भएको भन्दै अब भ्रष्टाचारविरुद्धको सबैभन्दा ठुलो योद्धा आफ्नो पार्टी भएकाले देशलाई सुधार्न सक्ने बताए । ‘नेपाललाई विगतमा हिंसाको आहालबाट बाहिर निकालेको कांग्रेस अब भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्ने छ, ‘उनले भने।

निर्वाचनको तयारी र मतदातासँगको संवादलाई केन्द्रमा राख्दै सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई धैर्यपूर्वक जनताको समस्या सुन्न र हरेक मतदातासम्म पुग्न निर्देशन दिए । ‘देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरी पार्टी निर्वाचनमा होमिएको छ । अब कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देश लिएर जनतासँग जानुपर्छ, ‘उनले थपे ।

बैठकपछि सभापति थापाले गण्डकी प्रदेश समितिको बैठकमा पनि सहभागिता जनाए । सभापति शुक्रराज शर्माले उनलाई स्वागत गर्दै कांग्रेसको काँधमा देश अघि बढाउने महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।

बैठकमा प्रदेश समितिका पदाधिकारीसहित गण्डकी प्रदेशका प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार र केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?